नेपालगन्जमा करोडौंको मेसिनसहितको बीउ उद्योग बन्द



वीरेन्द्र जैसी,नेपालगन्ज : कृषि सामग्री कम्पनी लिमिटेडले नेपालगन्जमा एउटा करोडौँ मूल्यको मेसिनसहितको उद्योग प्रयोगमा नल्याएर थन्क्याएको पाइएको छ । साविकको बिउबिजन कम्पनी लिमिटेड रहेको लिमिटेडको नेपालगन्ज–१८ कारकाँदोस्थित संरचनामा रहेको बीउ उत्पादनमा प्रयोग हुने उक्त मेसिन जडान भएयता नै प्रयोगमा नल्याएर थन्क्याएको पाइएको छ । मेसिन जडान भएको र कम्पनी मर्ज भएको नै पाँच वर्षभन्दा बढी भइसकेको छ ।

विशेषगरी धान र गहुँलगायतका बालीका बीउको सफाइ, ग्रेडिङ र ट्रिटिङ गरी गुणस्तरीय बीउ उत्पादन गर्नका लागि जडान गरिएको उक्त मेसिनले एक घन्टामा पाँचदेखि ७ टन बीउ तयार गर्न सक्ने क्षमताको रहेको छ । जसबाट बीउ उत्पादन गरी बाँकेसहित पश्चिम नेपालमा बीउको आपूर्ति गर्ने उद्देश्यले  स्थापना गरिएको उक्त बीउ उद्योग सञ्चालन नै नगरेर अनुपयोगी अवस्थामा राखिएको छ ।

साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडलाई कृषि सामग्री कम्पनी लिमिटेडमा मर्ज गर्ने नेपाल सरकारको २०७५ साल भदौ ३१ गतेको निर्णयअनुसार २०७६ साल साउन ३१ गतेबाट कृषि सामग्री कम्पनीमातहत आएको उक्त उद्योग त्यसयता सञ्चालनमै ल्याइएको छैन । बीउबिजन कम्पनी लिमिटेडलाई चलायमान बनाउनका लागि मर्ज गर्ने निर्णय गरिएकोमा त्यसयता उल्टै उद्योग नै बन्द गरेर कृषि सामग्री कम्पनीले राज्यस्रोतलाई अनुत्पादक बनाएको पाइएको हो ।
उक्त मेसिनसहितको उद्योग करिब २० करोडभन्दा बढीको लागतमा स्थापना गरिएको स्रोतको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेडका एक कर्मचारीले भने, ‘यो कम्पनीमा मर्ज हुनुअघि सायद चलेको हुनुपर्छ । त्यसयता चलेको जानकारी छैन । त्यसै थन्किएर बसेको अवस्था छ ।’
कृषि सामग्री कम्पनी लिमिटेडका बीउ विभागका प्रमु्ख एवम् कम्पनीका सूचना अधिकारी पूण्यप्रसाद उपाध्यायले उत्पादित बीउ बिक्री नहुने कारणले गर्दा मेसिन चलाउन नसकिएको बताए । उनले मेसिन सन्चालन नहुनुको कारण स्थानीय तह तथा किसानहरूले लिमिटेडले उत्पादन गरेको बीउ खरिद नगर्ने गर्दा समस्या आएको तर्क गरे । उनले मिसन टुडेसँग भने, ‘बजारमा माग भएपछि पो हामीले उत्पादन गर्ने हो । बीउ बिक्री नै हुँदैन । स्थानीय तहले हामीबाट नकिनेर बाहिरबाट किन्छन् । अनि कसरी चलाउन सकिन्छ र उद्योग ?’

उता संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईं भने बिक्री नभएर मेसिन नचलाएको भन्नु गैरजिम्मेवारी भएको बताउँछन् । उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘त्यो व्यापारकै लागि स्थापित राज्यको लगानी भएको संस्थान हो । अनि उसँग बीउ कसरी बेच्ने योजना हुनुपर्दैन ? योजनै नबनाउने अनि बीउ बिक्री भएन भन्न मिल्दैन ।’

प्रसाईंले केन्द्रले हरेक वर्ष बीउको ब्यालेन्स सिट बनाउने गरेको र त्यसमा उत्पादक कम्पनीहरूले आफ्नो उत्पादन पनि इन्ट्री गराएर बिक्रीको प्रबन्ध गर्न सक्ने उनले बताए । तर कम्पनीले बीउबिजन उत्पादनका ध्यान नदिएर मल बिक्रीमा मात्रै ध्यान दिएको पाइएको उनको भनाइ छ । ‘राज्यले बीउ उत्पादन बढाएर बीउमा आत्मनिर्भर हुन सकिएला भनेर बिउबिजन कम्पनीलाई पनि कृषि सामग्रीमा गाभेको थियो । तर, उहाँहरूले बीउतिर ध्यानै दिनुभएन । मल बेच्नेतिर मात्रै सीमित हुनुभयो,’ प्रसाईंले भने ।
कर्मचारीकै छैन व्यवस्था
कृषि सामग्री कम्पनी लिमिटेडले मेसिन सन्चालनका लागि जनशक्तिको व्यवस्थापन नै गरेको छैन । उक्त मेसिन सन्चालनका लागि एग्रीकल्चर इन्जिनियरिङ अध्ययन गरेको प्लान्ट अपरेटर आवश्यक पर्छ । जुन जनशक्ति नेपालगन्जमा छैन ।
लिमिटेडको नेपालगन्ज कार्यालयका सूचना अधिकारी तारा लामिछानेका अनुसार नेपालगन्जमा अर्काे एउटा सानो मेसिनबाट अहिले बीउ उत्पादन भइरहेको छ ।

उक्त मेसिनबाट अहिले वार्षिक करिब एक सय मेट्रिक टन बीउ उत्पादन गर्ने गरिएको उनले जानकारी दिइन् । कर्मचारी नहुँदा उक्त मेसिन पनि आफैले चलाउनुपरिरहेको लामिछानेले बताइन् ।
कृषि सामग्रीको नेपालगन्जस्थित कार्यालयमै जम्मा दुई जना कर्मचारी मात्रै छन् । दुईजना कर्मचारीहरूले अतिरिक्त समयमा पनि काम गर्नुपरिरहेको बताउँछन् । प्राविधक जनशक्ति एकजना पनि छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका बीउ विभागका प्रमु्ख एवं कम्पनीका सूचना अधिकारी पूण्यप्रसाद उपाध्याय अहिले कर्मचारीको पदपूर्तिका लागि आवेदन मागिएको बताउँछन् । उक्त विज्ञापनबाट आएका कर्मचारीहरूले अहिले कर्मचारीको कमी पूर्ति हुने उनको दाबी छ ।
कम्पनीले गत कात्तिक ३० गते ७० जना कर्मचारी माग गरेर विज्ञापन आह्वान गरेको थियो । जसको परीक्षा हुन बाँकी नै छ । जसमध्ये ८ जनामात्रै प्राविधिक कर्मचारीहरू माग गरिएको छ ।
आयात हुन्छ बीउ, उत्पादनमा निजी कम्पनी र सहकारी
नेपालमा धानखेती हुने करिब १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक पर्ने गरेको छ । जसमध्ये अधिकांश हिस्सामा किसानहरूले आफ्नै बीउ प्रयोग गर्ने गरेका छन् । तर, बीउको गुणस्तरले उत्पादनमा पनि प्रभाव पार्ने भएपछि किसानहरूले पछिल्लो समय सकेसम्म प्रशोधित र उन्नत बीउ प्रयोग क्रम बढ्दै गएको छ ।

त्यस्तो प्रशोधित बीउ र उन्नत जातको बीउको उत्पादनको अधिकांश हिस्सा निजी कम्पनी तथा व्यवसायीहरूले ओगटेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले तयार गरेको आर्थिक वर्ष २०८०–८१ को धानको बीउको वासलातमा धानको प्रजनन बीउको माग ३८ हजार केजी भए पनि आपूर्ति भने १३ हजार दुई सय २३ केजी मात्रै रहेको उल्लेख छ ।
यसैगरी, गहुँको बीउको चालु आर्थिक वर्ष २०८१–८२ को वासलातमा माग सात लाख ३७ हजार ९२ केजी भएपनि आपूर्ति भने तीन लाख ३७ हजार चार सय ३२ केजी मात्रै हुने उल्लेख छ । देशभित्र उत्पादन हुने बीउको अधिकांश हिस्सा स्थानीयस्तरका सहकारी र निजी कम्पनीहरूले धानेका उक्त वासलातबाट देखिन्छ । केही हदसम्म नार्क अन्तर्गतका निकायहरूले पनि बीउ उत्पादन गर्दै आएका छन् । केन्द्रको वासलातमा बीउ बिक्रेता र उत्पादकहरूले दिएको जानकारीका आधारमा मात्रै तथ्यांक राखिन्छ ।

माग बढी भएर भारत र चीनबाट पनि बीउको आयात हुने गरेको छ । आर्थिक वर्ष २०७९–८० मा नेपालगन्ज नाकाबाट मात्रै १० करोड ४२ लाख ५९ हजार रूपैयाँबढीको दुई लाख १० हजार धानको बीउ आयात भएको भन्सारकोे तथ्यांकमा देखिन्छ । नेपालमा आर्थिक वर्ष २०७०–७१ देखि २०७७–७८ सम्म पाँच अर्ब ५३ करोड ३३ लाख ६५ हजार बढी मूल्यको धानको बीउ आयात भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार