रेशम र रवि राजनीतिमा आउन नहुने पात्र हुन्ः सहमहामन्त्री राठौर



कैलाली ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नवप्रवेशीले राजनीतिलाई बदनाम गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै राठौरले जसको जे काम हो उसले उही काम गर्नुपर्ने बताएका हुन् ।

उनले रेशम चौधरी र रवि लामिछानेको नामै उल्लेख गरेर राजनीतिमा आउन नहुने पात्र भएको बताए । ‘रेशम राम्रो प्रतिभा भएका कलाकार हुन् । उनले कलाकारिताबाटै थारू समुदायका लागि केही गर्न सक्थे,’ उनले भने, ‘राजनीतिमा लागेर मिलेको समाज बिगार्ने काम मात्रै गरे ।’
उनले रास्वपाका सभापति रवि लामिछानेले समेत राजनीतिमा आएर राम्रो नगरेको बताए ।

‘उनी राम्रो पत्रकार थिए । त्यसैमा उनको नाम थियो,’ उनले भने, ‘राजनीतिमा नआएको भए सायद यी कुराहरू बाहिर आउँदैन थिए होला ।’ उनले सबैको अन्तिम गन्तव्य राजनीति नै हो भन्ने गलत संस्कार विकास भएको बताए ।

राठौरले कांग्रेस कमजोर भए यो व्यवस्था नै कमजोर हुने दाबी गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने उल्लेख गरेका थिए । उनले नेता कार्यकर्ताहरूको आपसी लडाइँले कांग्रेस कमजोर बन्दै गएको बताउँदै सबै तिक्तता त्यागेर एकजुट हुनुपर्ने बेला आएको बताए ।

‘हामी नेता कार्यकर्तामा अनुशासन छैन,’ उनले भने, ‘अनुशासनहिनताले पार्टीलाई मात्रै हैन हामी स्वयम्लाई समेत नोक्सान भइरहेको छ । यो कुरा हामीले बुझ्नुपर्छ ।’ उनले पार्टीको तल्लो तहमा युवाहरूको सक्रियता बढ्दै गएको बताउँदै आगामी १५औँ महाधिवेशनबाट केन्द्रीय समितिमा समेत युवाको सङ्ख्या बढ्न सक्ने बताए । उनले कांग्रेसको भविष्य युवाको हातमा रहेको समेत बताए ।

उनले कांग्रेस कुनै एक जात, धर्म र वर्गका पक्षमा मात्रै नबोल्ने बताउँदै सबैको हकअधिकारका लागि लड्ने र लडेको इतिहास साक्षी रहेको पार्टी भएको बताए । क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा सम्पन्न भएको सम्मेलन उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यद्वय डाक्टर रणबहादुर रावल र नृपबहादुर वड, राष्ट्रिय सभा सदस्यद्वय नारायणदत्त मिश्र र नारायण भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार