धान बिक्रीका लागि जिल्लाका ६ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि ५ सय ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ । खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त रकम बराबरको ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको हो ।
नेपालगन्ज ।
बाँकेका किसानहरूले यस वर्ष ११ करोड रूपैयाँभन्दा बढी रकमको धान बिक्री गरेका छन्् । जिल्लाका विभिन्न पालिकाका किसानहरूले उक्त रकमबराबरको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जलाई बिक्री गरेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरूसँग ११ करोड ३३ हजार ७१ लाख २ सय ९५ रूपैयाँ ८८ पैसाको धान खरिद गरेको हो । कार्यालयका अनुसार यस वर्ष मोटा धान २ करोड ६१ लाख २ हजार १ सय ३३ रूपैयाँ ६५ पैसा र मध्यम धान ८ करोड ७२ लाख ६९ हजार १ सय ६२ रूपैयाँ २३ पैसा गरी कुल ११ करोड ३३ हजार ७१ लाख २ सय ९५ रुपियाँ ८८ पैसाको धान खरिद गरिएको हो ।
धान बिक्रीका लागि जिल्लाका ६ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि ५ सय ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।
खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त रकमबराबरको ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको हो । अब यस वर्ष बाँकेमा धान खरिद कार्य सकिएको कार्यालयले जनाएको छ ।
‘यस वर्ष हामीले गत कात्तिक २० गतेदेखि किसानसँग धान खरिद कार्य सुरु गरेका थियौँ, पुस १९ गतेसम्म दुई महिनाको अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरिसकेका छौँ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले भने, ‘पुस १९ गतेपछि किसानहरू आउन छाडेका छन््, धेरै किसानहरूले धान बिक्री गरिसके, अब यस वर्षको धान खरिद लगभग यत्ति नै होला ।’
‘हामीले लक्ष्यअनुसार मोटा धान खरिदको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, हामीले माग गरेअनुसार र सोचेअनुसार मोटा धान आएन तर मध्यम धान भने मागअनुसार आयो र हामीले खरिद ग¥यौँ,ँ’ मुख्य शाखा प्रमुख लामिछानेले भने । पुस १९ गतेपछि किसानहरू धान बिक्री आउन छाडेका कारण यस वर्ष धान खरिद कार्य लगभग सकिएको उनले बताए ।
यस वर्ष किसानहरूले मोटाभन्दा बढी मध्यम धान बिक्री गर्न कार्यालयमा ल्याएको उनको भनाइ छ । ‘२५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म लगभग खरिद गरिसकेका छौँ, यस वर्षका लागि मध्यम धान खरिद लक्ष्य पूरा भएको छ ।’ लामिछानेले भने, ‘मोटा धानको खरिद भने लक्ष्यअनुसार पुग्न सकिएन, किसानले बजारका व्यापारीलाई नै मोटा धान बिक्री गरे, चिउरा उत्पादन प्रयोजनका लागि बजारका व्यापारीले हाम्रोभन्दा केही बढी मूल्य दिएर किसानसँग मोटा धान खरिद गरेको हुँदा पनि हामीसम्म माग अनुसारको मोटा धान आइपुगेन ।’
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको समन्वयमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो ।
३० हजार क्विन्टल मोटा धान र २५ हजार क्विन्टल मध्यम गरी ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले यस वर्ष ७६५३.४४ क्विन्टल मोटा र २४३७२.६४ क्विन्टल मध्यम गरी जम्मा ३२०२६.०८ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताए । मोटा धानको ३ हजार ४ सय १० रूपैयाँ ५१ पैसा र मध्यम धानको ३ हजार ५ सय ८० रूपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको घिमिरेले बताए ।
गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगन्ज कार्यालयले जम्मा ८ हजार क्विन्टल धान खरिद गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्