नेपालगन्ज (बाँके) ।
नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघलाई पत्रकारमाथि दुव्र्यवहार नगर्न आग्रह गरेको छ । पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा वाणिज्य संघलाई पत्रकारमाथि दुव्र्यवहार नगर्न भन्दै ध्यानाकर्षण समेत गराइएको छ ।
सचिव ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरूको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आइरहेको सर्वविदितै छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस अनुरुप नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘यसै क्रममा माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूजबाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा खेद व्यक्त गर्दछ । यस्ता घटना नदोहो¥याउन महोत्सव आयोजकलाई सचेत समेत गराउँदछौँ ।’ सचिव ओलीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
महासंघले पत्रकारहरूलाई आफू कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ । साथै रिपोर्टिङका क्रममा सम्पूर्ण पत्रकारहरूलाई ‘पत्रकार आचारसंहिता’को पूर्णरूपमा पालना गर्दै मर्यादित रूपमा पत्रकारिता गर्न समेत आग्रह गरिएको छ ।
यस्तै ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति पत्रकारसंवद्ध विभिन्न संघसंगठनहरूले ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस चौतारी बाँकेका सचिव देवेन्द्रराज पौडेलले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा पत्रकार ओलीले महोत्सवस्थलमा समाचार संकलन गर्ने क्रममा आफ्नो परिचय दिँदादिँदै अवरोध गरी आयोजकका तर्फबाट सुरक्षाकर्मी लगाएर बाहिर निकाल्दै दुव्र्यवहार गरिएको जनाइएको छ ।
यसप्रकारका घटना फेरीपनि दोहोरिन नदिन र पत्रकारहरूलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी नेपाल प्रेस युनियनका सचिव भिष्म लोधद्वारा जारी विज्ञप्तिमा पत्रकार ओली र अर्का पत्रकार प्रेस युनियन बाँकेका सदस्य सलामत अलि शेष माथि भएको दुव्र्यवहारको घटनाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
अब उपरान्त यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरूलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेका सचिव पुष्पराज हमालले एक विज्ञप्ति जारी गर्दै महोत्सवस्थलमा पत्रकारमाथि गरिएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा पत्रकारहरूलाई निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघको ध्यानाकार्षण गराइएको छ ।









प्रतिक्रिया दिनुहोस्