ग्रीन पिसले उचाल्यो दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डको उपाधि



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि कोहलपुर–१२ स्थित ग्रीन पिस सेकेण्डरी स्कूलले जितेको छ । प्याब्सन कोहलपुरको आयोजनामा माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा सहभागी २८ विद्यालयलाई पछि पार्दै ग्रीन पिसले उपाधि जित्न सफल भएको हो ।

आइतबार सम्पन्न प्रतियोगितामा ग्रीन पिसले कूल १५ वटा पदक जितेको छ । ग्रीन पिसले प्रतियोगितामा सबैभन्दा धेरै ७ स्वर्ग, ५ रजत र ३ कास्य पदक जितेको हो । दोस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको ग्रीन पिसले २५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ ।

यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित निम्बल एकेडेमी कोहलपुरले द्धितीय स्थान हासिल गरेको छ । यसैगरी बागेश्वरी एकेडेमीले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर प्रतियोगितामा तृतीय स्थान हासिल गरेको छ । द्धितीय स्थान हासिल गरेको निम्बल एकेडेमीले नगद १५ हजार र तृतीय स्थान हासिल गरेको बागेश्वरी एकेडेमीले नगद १० हजारसहित ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।

कोहलपुर–२ स्थित तेह्रविगाहा मैदानमा आयोजित समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय तथा खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिता समापनपूर्व आइतबार विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा एथेलेटिक्सत छात्रतर्फ जीवन ज्योति माध्यमिक विद्यालय प्रथम, निम्बल एकेडेमी द्धितीय र बागेश्वरी एकेडेमीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, दीप ज्योति विद्यालय निकेतन द्धितीय र गोरखा युनाइटेड माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

माध्यमिक तह अन्तर्गत ३ हजार मिटर दौडमा छात्रतर्फ गोरखा युनाइटेड पब्लिक स्कूलका कमल भारती र छात्रातर्फ प्रयत्न इंलिस मेडियम स्कूलकी संगीता पुरी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

यस्तै, छात्रतर्फ प्रयत्न इंलिस मेडियम स्कूलका जोसेफ रोका र छात्रातर्फ डायनामिक माविकी करिश्मा सेनले द्धितीय स्थान हासिल गरेका छन् । यसैगरी छात्रतर्फ ग्रीन पिस सेकेण्डरी स्कूलका प्रशान्त श्रेष्ठ र छात्रातर्फ गोरखा युनाइटेड पब्लिक स्कूलकी आशिका हमालले तृतीय स्थान हासिल गरेका छन् ।

छात्र भलिबलमा भने डायनामिक माध्यमिक विद्यालय प्रथम, ग्रीन पिस सेकेण्डरी स्कूल द्धितीय र प्रयत्न इंगिस मेडियम स्कूलले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ प्रयत्न इंगिस मेडियम स्कूल प्रथम, दीप ज्योति मावि चिसापानी द्धितीय र नमुना विद्या सदनले तृतीय स्थान हासिल गरेका छन् ।

फुटसल छात्रतर्फ ग्रीन पिस सेकेण्डरी स्कूल प्रथम, बालज्योति माध्यमिक विद्यालय द्धितीय र गोरखा युनाइटेड पब्लिक स्कूलले तृतीय स्थान हासिल गरेका छन् भने छात्रातर्फ मिसन पब्लिक एकेडेमी प्रथम, दीप ज्योति विद्यालय निकेतन बैजनाथ द्धितीय र गोरखा युनाइटेड पब्लिक स्कूलले तृतीय स्थान हासिल गरेका छन् ।

माध्यमिक तहको प्रतियोगितामा छात्रतर्फ डायनामिक माध्यमिक विद्यालयका वीरेन्द्र दमाई र प्रयत्न इंलिस मिडियम स्कूलकी पाहुल चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ वटा मावि तह र १० वटा आधारभूत तहका विद्यालय सहभागी थिए ।

यसका अतिरिक्त यसपटक प्रतियोगितामा बैजनाथका ६ विद्यालयलाई पनि समावेश गरिएको थियो । कूल १८५६ जना विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा ३०० मिटर रनिङ, छात्रा र छात्र भलिबल, एथलेटिक्सका १०० मिटर, छात्रा र छात्र १००×४ रिले दौड, छात्रा र छात्र २०० मिटर दौड जस्ता खेल समावेश थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार