नेपालगन्ज मेडिकल कलेजमा बोर्ड लगाएको सञ्जीवनीले कतैबाट अनुमती नलिएको खुलासा



सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले नेपालगन्जमा तीन सय बेडको अस्पताल सञ्चालन गर्न लागेको भनेर गरेको प्रचार तलब तथा सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलनरत कर्मचारीहरूलाई तर्साउनका लागि गरिएको पुष्टि भएको छ । अस्पताल सञ्चालनको अनुमति नलिइकनै तीन सय बेडको अस्पताल सञ्चालनको प्रचार गरिनुले सोही कुरालाई पुष्टि गरेको हो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन हुँदै आएको नेपालगन्जस्थित अस्पतालमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले तीन सय बेडको अस्पताल सञ्चालन गर्न लागेको भनेर गरेको प्रचार फर्जी रहेको पाइएको छ ।

सञ्जीवनीले हालसम्म अस्पताल सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गरेको छैन । तर, गत पुस १५ गते अस्पतालमा नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू आन्दोलनमा रहेको अवस्थामा एकाएक राती अँध्यारो भइसकेपछि ‘नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज’ को बोर्ड हटाएर सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको बोर्ड राखियो । त्यससँगै आठ सय ९५ जजना कर्मचारी माग गरेर मिति र लोगो समेत नरहेको एउटा विज्ञापन सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको नाममा जारी भयो । जसमा नेपालगन्जमा तीन सय बेडको अस्पताल सञ्चालनका लागि कर्मचारी माग गरिएको उल्लेख थियो ।

तर, सञ्जीवनीले नेपालगन्जमा अस्पताल सञ्चालनका लागि सरकारबाट अनुमति नै प्राप्त गरेको छैन । मिसन टुडेलाई प्राप्त संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको पत्र र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको पत्रले हालसम्म सञ्जीवनीले नेपालगन्जमा कुनैपनि अस्पताल सञ्चालनका लागि अनुमति लिएको छैन । जबकि जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम १ मा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालनअघि सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

 

सोही यिमावलीको नियम १२ को उपनियम २ बमोजिमको अनुसूची ९ मा दुई सय भन्दा बढी शैया क्षमताको अस्पतालको लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

सञ्जीवनीले विज्ञापनमा प्रचार गरेजस्तै तीन सय बेडको अस्पताल सञ्चालनका लागि संघीय सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । तर, गुणस्तर मापन तथा नियमन महाशाखाको २०८१ माघ २ गतेको पत्रमा सञ्जीवनीले नेपालगन्जमा अस्पताल सञ्चालनका लागि अनुमति लिएको अभिलेखमा नदेखिएको उल्लेख छ । यसैगरी, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको माघ ६ गतेको पत्रमा पनि सञ्जविनीले नेपालगन्ज वडा नम्बर १२ मा सञ्चालन गर्न कुनै अनुमति नलिएको उल्लेख छ ।

यसरी सरकारबाट अनुमति नै नलिएको अस्पतालले तीन सय बेडको अस्पताल सञ्चालका लागि भनेर आठ सय ९५ जना कर्मचारी भर्ना गर्नका लागि आवेदन माग गरिसकेको छ । उक्त आवेदनको म्याद माघ मसान्तसम्म रहेको सञ्जीवनीको कायममुकायम निर्देशक एवम् लर्ड बुद्ध एजुकेश्नल एकेडेमी लिमिटेडका उपनिर्देशक श्याम शर्मा बताउँछन् । उनले मिसन टुडेसँग भने, ‘माघ मसान्तसम्म आवेदन दिने म्याद छ । अहिलेसम्म करिब एक हजार जनाको आवेदन परिसकेको होला ।’

निर्देशक शर्माले पनि सञ्जीवनीले अस्पताल सञ्चालनका लागि अनुमति नपाइसकेको स्वीकार गरे । शर्माले अहिले विज्ञापन गर्नुको कारण अस्पतालका लागि अनुमति लिँदा कर्मचारीको पनि विवरण बुझाउनुपर्ने भएकोले कर्मचारी भर्ना गर्नु रहेको शर्माले तर्क पनि गरे । तर, तीन सय बेडको अस्पताल सञ्चालनका लागि अहिले अस्पताल रहेको स्थानमा पर्याप्त जमिन र संरचना नै छैन । यस हिसाबले पनि सञ्जीवनीले प्रचार गरेको तीन सय बेडको अस्पताल सञ्चालन हुनसक्ने आधार देखिँदैन । निर्देशक शर्मा पनि अहिले एक सय बेडको अस्पताल सञ्चालनका लागि अनुमति लिने प्रक्रिया अघि बढेको बताउँछन् ।

अनुमति लिने प्रक्रियामा पनि सञ्जीवनी भर्खरै मात्रै अघि बढेको पाइएको छ । अनुमति लिन स्थानीय तहको सरकारले आफ्नो क्षेत्रमा उक्त अस्पताल आवश्यक छ भनी सिफारिस दिनुपर्ने हुन्छ । उक्त सिफारिसका लागि पनि सञ्जीवनी केही दिनअघि मात्रै नेपालगन्ज उपमहानगरपालिका पुगेको स्रोतले बतायो ।

कर्मचारी तर्साउन सञ्जीवनीको प्रचार, कर्मचारी आन्दोलनमै

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले नेपालगन्जमा तीन सय बेडको अस्पताल सञ्चालन गर्न लागेको भनेर गरेको प्रचार तलब तथा सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलनरत कर्मचारीहरूलाई तर्साउनका लागि गरिएको कर्मचारीहरू बताउँछन् । अस्पताल सञ्चालनको अनुमति नलिइकनै तीन सय बेडको अस्पताल सञ्चालनको प्रचार गरिनुले सोही कुरालाई पुष्टि गरेको छ ।

२०५४ सालमा नेपालगन्जमा सञ्चालनमा आएको नेपालगन्ज हस्पिटल एण्ड रिसर्च एण्ड टे«निङ सेन्टर प्रालि २०५७ सालदेखि लर्ड बुद्ध एजुकेश्नल एकेडेमी लिमिटेडले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालका नाममा सञ्चालन गर्दै आएको थियो ।

सोही मेडिकल कलेजका कर्मचारीहरू २०८१ असार ९ गतेदेखि तलब सुविधा सरकारी मापदण्डअनुसारको हुनुपर्ने, विशेष ड्युटी र ओभरटाइम खटिने कर्मचारीहरूलाई सोही अनुसारको सुविधा दिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा थिए । कर्मचारीहरूले कानुनविपरीत अस्पतालको ओपिडीसमेत बन्द गरेर आन्दोलन गरिरहेका बेला एकाएक सञ्जीवनीको बोर्ड गेटमा झुण्ड्याइएको थियो ।

सञ्जीवनीका मालिक खुमा अर्याल नै नेपालगन्ज मेडिकल कलेजको पचास प्रतिशतबढी शेयर भएका सञ्चालक हुन् । उनले आफ्नो अर्काे कम्पनीको बोर्ड झुण्ड्याएर र नयाँ विज्ञापन गरेर आन्दोलनरत कर्मचारीहरूलाई दबाबमा पार्न खोजेको आन्दोलनरत कर्मचारीहरूले बताउँदै आएका छन् ।

नेपालगन्ज मेडिकल कलेज व्यवस्थापनले पनि अब नेपालगन्जमा रहेका कर्मचारीहरू सञ्जीवनीको अस्पताल सञ्चालनमा आएसँगै कोहलपुर जानुपर्ने बताउँदै आएको छ । नेपालगन्जमै काम गर्ने भए सञ्जीवनीको विज्ञापनअनुसार आएर फेरि भर्ना हुनुपर्ने मेडिकल कलेजको सञ्चालक संस्था लर्ड बुद्धका उपनिर्देशक श्याम शर्मा बताउँछन् ।

बाहिर सञ्जीवनी कलेज भनेर बोर्ड राखिएपनि भित्र भने अहिले पनि नेपालगन्ज मेडिकल कलेज र लर्ड बुद्धकै नाममा सेवा प्रवाह र आर्थिक कारोबार भइरहेको छ । यता कर्मचारीहरू अहिलेपनि आन्दोलनमै छन् । उनीहरू ड्युटी सकिएपछि धर्नामा बस्ने, विभिन्न सरोकारवालाहरूलाई आफ्ना मागबारे बताउने र लबिङ गर्ने गरिरहेका छन् । आन्दोलनको अगुवाई गरिरहेकी मध्ये एक अस्पतालमा कार्यरत कर्मचारी एवम् नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्जका अध्यक्ष अनिता थापाले आफूहरूको आन्दोलन माग पूरा नहुन्जेल जारी रहने बताइन् ।

 

नेपालगन्जबाट मेडिकल कलेज हटाउने प्रयत्न

२०८१ पुस १७ गतेको लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै बाँके निवासी प्रदेश सभा सदस्य रन्त खत्रीले भने ‘मेडिकल कलेज बाँके जिल्लाको गहना हो, नेपालगन्जको गहना हो, कोहलपुरको गहना हो, चिसापानीको गहना हो भनेर आजभन्दा २८ वर्षअगाडि त्यहाँका सम्पूर्ण राजनीतिक पार्टीहरू बसेर १० बिघा जमिन मात्र ६४ लाखमा दिएका हौँ ।

तर आज त्यही जमिनमा अहिले त्यो मेडिकल कलेजले आफ्नो सम्पत्तिका रुपमा तीन अर्बमा कारोबार गरिरहेको छ ।’ अहिले नेपालगन्जबाट त्यही मेडिकल कलेजको सेवा हटाउने गरी सिटिईभिटीजस्तै स्वास्थ्यतर्फका प्राविधिक विषयहरू पढाउने कलेजले प्रतिस्थापन गर्न खोजिँदैछ ।

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिले यसअघि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर मेडिकल साइन्ससँग सम्बन्धित विषयहरू पढाउने कलेज सञ्चालन गर्दै आएको थियो । अहिले नेपालगन्जमा रहेको नेपालगन्ज हस्पिटल एण्ड रिसर्च एण्ड टे«निङ सेन्टर प्रालिसँग मर्ज भएर अस्पताल सञ्चालन गर्न लागेको बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमबार