‘बाँके–बर्दिया कर्णालीमा गाभ्ने विषय छलफलमा ल्याउँछु’



नेपालगन्ज ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके बर्दियालाई कर्णाली प्रदेशमा जोड्नका लागि आफूले कुरा उठाउने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोत्सव–२०८१ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

हरेक १० वर्ष संविधानको पुनरावलोकन गर्न सकिने भएकाले आफूले प्रदेशको संरचनाका विषयमा कुरा उठाउँदा बाँके–बर्दियाको मागलाई पनि सम्बोधनको विषयमा कुरा उठाउने बताए । उनले बाँके–बर्दियाबासीहरूले कर्णाली प्रदेशमा गाभ्नुपर्छ भन्ने आवाज उठाउँदै आएको भन्दै यस विषयमा आफ्नो ध्यानाकर्षण भएकाले आफूले संविधान संशोधनको छलफल ल्याउने बताए ।

उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले संघीयतापछि नेपालगन्ज धेरै कुरामा पछि परेको बताएका थिए । उनीहरूले बाँके–बर्दिया कर्णाली प्रदेशसँग जोडिनु उपयुक्त हुने यहाँका नागरिकले महसुस गरेको बताएका थिए ।

उनीहरूले बाँके–बर्दियाको कर्णालीसँग सदिऔँदेखि प्रत्यक्ष सम्बन्ध रहेकाले यी दुई जिल्लालाई कर्णालीमै जोड्नु उपयुक्त हुने भएकाले पहल गरिदिन आग्रह गरेका थिए । बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने विषयमा संविधान जारी भएयता नै बहस हुँदै आएको छ । यस विषयले लुम्बिनी प्रदेश सभामा पनि प्रवेश पाइसकेको छ ।

सुरु भयो महोत्सव 

नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको महोत्सव माघ २२ गतेसम्म चल्नेछ । कारकाँदोस्थित सडक विभाग परिसरमा आयोजित प्रादेशिक महोत्सवको उद्घाटन प्रचण्डका अनेक कार्यक्रमको व्यस्तताका कारण अबेर साँझमात्रै उद्घाटन भएको थियो ।

उद्घाटनअघि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय त्रिभुवन चोकबाट महोत्सवस्थल सडक डिभिजन कार्यालय परिसर कारकाँदोसम्म सांस्कृतिक झाँकीसहितको ¥याली आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा गायक जीवन शर्मा, भागीरथ चलाउनेलगायतका कलाकारले गायन प्रस्तुतिसमेत दिएका थिए ।

उद्घाटन समारोहमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशका मन्त्री तथा सांसद, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारी, उद्योगपति, व्यापारी, समाजसेवी, नागरिक तथा धार्मिक अगुवा लगायतको उपस्थिति थियो ।

संघका अध्यक्ष टंक धामीले उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसाय, उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडिबुटी प्रदर्शनीमा राखिएको बताए । साथै सूूचना तथा विज्ञान प्रविधिसम्बन्धी नवीनतम प्रविधिका साथै उद्यमशाला समेत प्रदर्शनीमा राखिने संघले जनाएको छ ।

महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्ग्यसहितको सांस्कृतिक प्रस्तुति तथा कृषि, पर्यटन, जडिबुटी, हस्तकला, अटो मोबाइल्सलगायत ३ सय ५० वटा स्टलका साथै सूचना तथा विज्ञान प्रविधिसम्बन्धी नवीनतम प्रदर्शनी, विदेशी उद्यमशाला तथा उद्योग प्रदर्शनी, थारू भिलेज साथै विद्यालयस्तरीय नृत्य तारा प्रतियोगिता पनि आयोजना हुने संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रबार