मोहना–चौराह वर्षात नाली निर्माणको शिलान्यास



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मुख्य समस्याका रूपमा रहेको छ, वस्ती डुवान । विशेषतः धनगढी उपमहानगरपालिकाको वडाहरू २, ३, ४ र १३ वर्षात्को समयमा बढी प्रभावित हुने गरेका छन् । सोही समस्या समाधानका लागि संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयको बजेटमा वर्षात् पानी नाली निर्माण आयोजना अघि बढाइन लागेको छ ।

बुधबार एक समारोहकाबीच आयोजनाको शिलन्यास गरिएको छ । सोही शिलन्यास कार्यक्रममा आफूलाई आमन्त्रण नगरेको भन्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अपमानित भएको अभिव्यक्ति सार्वजनिक रूपमा दिए । बुधबार बिहान ८ बजे शिलन्यास कार्यक्रमको समय निर्धारण गरिएको भएपनि एक घण्टा ढिलो गरि सुरु भयो ।

सो कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले समुद्घाटन गर्ने कार्यतालिका रहेको थियो । पूर्वमन्त्री देउवा पुग्न अघिनै कार्यक्रमस्थलमा आएका धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल आक्रोशित देखिन्थे । आफूलाई कार्यक्रममा आमन्त्रण नगरेको भन्दै उनी भन्दै थिए, ‘मलाई यहाँ आमन्त्रण गरिएको छैन् । म वडा नम्बर ३ का वडाअध्यक्ष राजबहादुर ऐरको आग्रहमा आएको हुँ । यो नेपाली कांग्रेसको कार्यक्रम हो ।’

औपचारिक कार्यक्रम अघि बढाउँदा सञ्चालकले उनलाई विशिष्ठ अतिथिका रूपमा आसन ग्रहण गर्नका लागि मञ्चमा बोलाए । तर, उनी गएनन् । कार्यक्रमको वडा नम्बर २ का वडाअध्यक्ष धर्मराज ओझाले स्वागत मन्तव्य राखे । विशिष्ठ अतिथिका रूपमा मन्तव्य राख्न मञ्चमा पुगेका नगर प्रमुख हमालले आयोजना अघि बढ्नुमा सकारात्मक हुनुभन्दा कार्यक्रममा आफूलाई आमन्त्रण नगरेको भन्दै अपमान गरेको बताए ।

‘म अपमानित भएर आएको छु । म नगर प्रमुखको हैसियतले यहाँ आएको होइन् । वडा नम्बर ४ को स्थानियबासीका रूपमा यहाँ आएको हुँ । मैले वडा नम्बर ३ का वडा अध्यक्षले जानकारी दिएपछि थाहा पाएँ । किन आएँ भन्दाखेरी मैले दुःख देखेको छु । यहाँ कसले शिलन्यास गर्छ । उद्घाटन गर्छ त्यो महत्वपूर्ण होइन् । मेरो अपमान भयो । मेरो सम्मान भएन् ।’ उनले आफूले कार्यक्रममा नजाने गरेको बताउँदै भने, ‘म कार्यक्रम उद्घाटनमा जाँदैन । मलाई यो मतलब पनि छैन् । सो नालाको डीपीआर धनगढीले तयार गरि अघि बढाएको हो ।’

कार्यक्रमका प्रमुख अतिथि पूर्वभौतिक पूर्वाधार मन्त्री देउवाले कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ को संयुक्त आयोजनामा भएकाले आमन्त्रणको जिम्मेवारी पनि वडा अध्यक्षहरूको रहेको बताए ।

उनले भने, ‘कार्यक्रममा आमन्त्रण गर्ने जिम्मेवारी वडा अध्यक्षहरूको हो । उहाँहरूले तपाईँसँग किन समन्वय गरेनन् । यो तपाईहरूबीचको आफ्नो कुरा हो । यो आयोजना अघि बढाउन ढिलाई भइसकेकाले जसरी भएपनि शिलन्यास गर्नुप¥यो भनेकोले म पुगेको हुँ । धनगढी नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू उपमहानगरपालिकाको एउटै संयन्त्र हो । उहाँहरूले तपाईसँग राम्रै सहजीकरण गरिरहेका छन् भन्ने उपमहानगरबासीले बुझेका छन् । हामीले पनि त्यही अनुसार बुझेका थियौं । उहाँहरूले तपाईसँग समन्वय नगर्नुमा उहाँलाईनै सम्पर्क गर्नुहोला ।’

कार्यक्रम सम्पन्न भए पश्चात् नगर प्रमुख हमालले वडा अध्यक्षहरूसँग आक्रोशित हुनुपर्नेमा पुनः मन्त्री देउवा र कार्यालयका आयोजना प्रमुख शिखर लामा तामाङसँग आक्रोशित भए । आफूलाई किन आमन्त्रण नगरेको भन्दै नगर प्रमुख हमाल उनीसँग आक्रोश व्यक्त गरिरहेका थिए ।

विकासमा तीन तहकै सरकारबीच सहयोग जरुरी

पूर्वमन्त्री प्रकाश देउवाले पुजापाठ गरि धनगढी उपमहानगरपालिका मोहनापुलदेखि चौराहसम्मको वर्षात् नालीको शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री देउवाले भने, ‘अहिले मोहनादेखि चौराहसम्म योजना अघि बढाएका छौं । भविष्यमा यो नाली निर्माण कार्य वडा नम्बर १३ मा रहेको मोहनपुरसम्म पु¥याइने छ ।’

मन्त्री देउवाले तीन तहकै सरकारबीच समन्वय बलियो भएमात्र स्थानीय तहको विकास सम्भव रहने बताए । ‘संविधानको अवधारणा अनुसार स्थानीय तह, प्रदेश र संघबीच बलियो समन्वय हुनुपर्छ ।

तीनै तहका सरकारबीच राम्रो समन्वय भयो भने त्यहाँका जनताले सुविधा पाउँछन् र विकास पाउँछन्’ उनले भने, ‘धनगढीलाई अरु विकसित बनाउँ साँच्चिकै प्रदेशको राजधानी जस्तो बनाउँ । शहर जस्तो बनाउँ । त्यसका लागि नगर प्रमुखको पनि सहयोग चाहिन्छ । प्रदेशको पनि सहयोग चाहिन्छ र वडा जनप्रतिनिधिहरूको पनि सहयोग चाहिन्छ । संघमा रहेका जनप्रतिनिधिहरूको पनि सहयोग चाहिन्छ ।’

उनले निर्वाचनका समयमा जनतासँग बोलेका बाचा पूरा गर्न तीनै तहबीच सहयोग नभए काम गर्न समस्या हुने बताउँदै भने, ‘हामी सबै आपसी समझदारी कायम गरि अघि बढ्न जरुरी छ ।’

निर्माण सम्झौताको पाँच महिनापछि अघि बढ्दै योजना

धनगढीको मोहना पुलदेखि चौराहसम्म वर्षात् पानी नाली निर्माण आयोजनाको निर्माण सम्झौता यही असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि बुधबारदेखि निर्माण कार्य अघि बढाइएको छ ।

दुई चरणमा गरिएको ठेक्का सम्झौता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मोहनादेखि चौराहसम्म शुभलक्ष्मी–आदर्श जेभी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहनादेखि चौराहसम्म सनराइज–चन्द्रविकास–मष्टा जेभिसँग भएको छ ।

वडा नम्बर २ को योजनाको कुल लागत छ करोड पाँच लाख एक हजार आठ सय ३२ रहेको छ भने वडा नम्बर ३ को आठ करोड ४० लाख २९ हजार दुई सय ९३ रहेको छ । दुबै योजनाको २०८३ वैशाख १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका आयोजना प्रमुख शिखर लामा तामाङका अनुसार वडा नम्बर ३ को नाली दुई÷दुई मिटरको चौडाईमा एक हजार चार सय ५० मिटर लम्बाई रहेको छ भने वडा नम्बर २ नालाको एक हजार तीन सय ६५ मिटर लम्बाई रहने छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार