सांसद ढकालका महत्वाकांक्षी योजना



कोहलपुर ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सूर्यप्रसाद ढकालले आफू सांसद बनिसकेपछि बाँके जिल्लाको समग्र विकासका लागि गरेका महत्वपूर्ण कार्यहरूको फेहरिस्त प्रस्तुत गरेका छन् । सांसद ढकालले बुधबार कोहलपुरमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकासे योजनाहरूका बारेमा जानकारी गराएका हुन् ।

‘मैले निर्वाचित भएर सँसदमा गइसकेपछि सधैभरी यहाँका आम जनताका लागि बोलिरहेको छु, उनीहरूका समस्याका बारेमा आवाज उठाइरहेको छु, कानुन बनाउने ठाउँमा पुगेपनि आफ्नो निर्वाचन क्षेत्रमात्रै नभएर समग्र बाँके जिल्लाको विकासका लागि मैले सधैभरी आवाज उठाइरहेको छु ।’ सांसद ढकालले भने, ‘विकास निर्माण, सुशासन र समृद्धिका लागि प्रभावकारी ढंगले योजनाहरू कार्यान्वयन हुनुपर्छ भनेर मैले सदनमा आवाज उठाउँदै आएको छु ।’

सांसद ढकालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ठूला आयोजनाहरूलाई समयमै काम सक्न र निरन्तरता दिनका लागि सम्बन्धित ठाउँमा घच्घचाइरहेको बताए ।

उनले राप्ती नदीको तटबन्धन, मध्यवर्ती क्षेत्रको तारबार, नरैनापुरदेखि अगैयासम्म जोड्ने सडक, नरैनापुरमा खरका छाना हटाएर टिनका छानामा रुपान्तरण, बैजापुर औद्योगिक ग्रामको स्थापना, सिधनिया घाटदेखि नर्सरीसम्म जोड्ने सडक तथा पुल निर्माण, कोहलपुर चप्परगौढी खड्गवारहुँदै घुइयाबारी सल्यानसम्म जोड्ने अन्तरप्रादेशिक पर्यटकीय सडक लगायतका योजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गर्नेदेखि निरन्तरता दिनका लागि आफूले निरन्तर दबाब दिँदै आएको बताए ।

त्यसैगरी उनले कोहलपुर रिङरोड, कोहलपुर क्रिकेट मैदान, कोहलपुर बाल अस्पताल, कोहलपुर सिटीहल, कोहलपुर जैविकपार्क, राप्तीसोनारी वडा नम्बर १ राप्ती नदीमा पुल, माथेबास र महादेवामा पक्की पुल, चुकेनाला र भक्तेखोलाको तटबन्धन, अगैया कचनापुरहुँदै कम्दी जोड्ने सडक, राष्ट्रिय गौरवको योजना सिक्टा सिँचाइ, शुद्ध खानेपानीको उचीत प्रबन्ध र सबै टोल र बस्तीहरूमा सहज विद्युत उपलब्ध, खहरे खोलाहरूको तटबन्धन लगायत सडक, पुल, तटबन्धन, सिँचाइ, शिक्षा, स्वास्थ्य विषयहरूको समग्र विकासका लागि सामूहिकरुपमा प्रयास गरिरहेको बताए ।

१८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा सबै योजनाहरूमा थप बजेटको व्यवस्थापन गर्ने, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनताका पीडाहरू सदनमा उठाउने र विकासको साझा मोडालिटी बनाउन सडक र सदनमा प्रभावकारी ढंगले आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
सांसद ढकालले सडक निर्माण गर्नुपूर्व खानेपानी, ढल निकास, विद्युतको तार, टेलिकमको तारको सुनिश्चितता गरेर मात्र सडक कालोपत्र गर्नुपर्ने, एकपटक कालोपत्र गरिसकेपछि तीन वर्षसम्म उक्त सडक खन्न नपाइने नियम बनाउन दबाब दिने बताए ।

मध्यवर्ती क्षेत्रमा बसोबास गरेका जनताका अप्ठ्यारालाई मध्यनजर गर्दै सडक, खानेपानी, विद्युत, ढल निकास, विद्यालय भवनको निर्माण र पुराना घर भत्काएर नयाँ घर बनाउने कुराको व्यवस्थापनको विषयमा पनि उठान गर्ने उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा उनले जंगलमा सुकेका र वन कार्यालय र भन्सार कार्यालयमा रहेका साधन र गाडीको व्यवस्थापन गर्ने नीति बनाउने विषयमा जोड दिने बताए । कार्यक्रममा कोहलपुरका दर्जनौँ पत्रकारहरूको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार