यातायात व्यवस्था शाखा कार्यालय कोहलपुर, बाँकेले राजस्व, ब्लुबुक नवीकरण र लाइसेन्स नवीकरण सेवा प्रदान गर्नेछ । आगामी दिनमा कोहलपुरस्थित कार्यालयबाट सवारी मेकानिकल जाँच पास, नयाँ लाइसेन्स वितरणलगायतका सम्पूर्ण कार्यालय प्रवाह हुनुपर्ने यहाँका नागरिकको माग छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
‘हामी धेरै खुसी छौँ । आज खुसीको दिन हो । यो सामूहिक खुसी साटासाट गर्ने अवसर हो,’ यो भनाइ हो, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको । उनले भने, ‘कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालय स्थापना भएपछि कोहलपुर मात्र नभई बैजनाथ र राप्ती सोनारीका बासिन्दालाई पनि सहज हुने भएको छ । यसका लागि भूमिका खेल्ने यहाँका राजनीतिक दल, व्यवसायी र अन्य सरोकारवाला यसको हकदार हनुहुन्छ ।’ बुधबार यातायात व्यवस्था शाखा कार्यालय कोहलपुरको उद्घाटनमा नगर प्रमुख आचार्य हर्षित देखिन्थे ।
बुधबार एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले पानसमा बत्ती बाल्दै रातो रिबन काटेर सेवा कार्यालय उद्घाटन गरेका थिए । मन्त्री न्यौपानेले सेवा उद्घाटन गरेसँगै सेवाग्राहीले सेवा लिएर कार्यालयको सेवा औपचारिक रूपमा सुरु भयो ।
पहिलो सेवाग्राही बनिन्, ‘जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्की । कोहलपुरकी स्थानीयसमेत रहेकी कार्कीले आफ्नो लाइसेन्सको नवीकरणको राजस्व कोहलपुरस्थित कार्यालयबाटै तिरिन् । पहिलोपटक सेवा लिएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आफ्नै ठाउँबाट पहिलोपटक सेवा पाउँदा खुसी छु । यातायातको सेवा कार्यालय कोहलपुरमा खुल्नु राम्रो कुरा हो । अब नेपालगन्ज जान नपर्ने भयो ।’
कोहलपुर–१२ का पूर्णबहादुुर चन्द पनि ब्लुबुक र लाइसेन्स नवीकरणको राजस्व तिरेपछि कोहलपुरमै सेवा पाउँदा खुसी देखिन्थे । उनले पनि आफ्नै घरनजिकै सेवा सुरु हुँदा खुसी लागेको चन्दले बताए । सोही अवसरमा भेटिए, नेपालगन्ज–२० का धनबहादुर थापा । थापा कोहलपुरमै सवारी चलाउँछन् । आफू नेपालगन्जको भए पनि कोहलपुरमै सेवा कार्यालय खुल्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए ।
कोहलपुर–११ का ६३ वर्षीय शेषकान्त शर्मा कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना गर्न पहल गर्नेमध्येका एक हुन् । उद्घाटन सत्रमा उपस्थित शर्माका अनुसार यातायात कार्यालय स्थापना हुनु कोहलपुरका लागि गौरवको कुरा हो । अब प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘कोहलपुरमै सेवा सञ्चालन भएको छ । खुसी लागेको छ । नेपालगन्ज जानु नपर्दा समय र पैसा दुवै बच्छ ।’
बुुधबार पहिलो दिन ब्लुबुक-नवीकरण २५ जना, लाइसेन्स नवीकरण ११ जना र पटके सेवा ३ जनाले लिए । पहिलो दिन २ लाख ४ हजार ७ सय १० रूपैयाँ राजस्व संकलन भएको छ । कोहलपुर–११ स्थित पुरानो बसपार्कमा यातायात व्यवस्था शाखा कार्यालय कोहलपुरको उद्घाटन गरिएको हो । समारोहमा सहभागी सम्पूर्ण कोहलपुरबासी हर्षित मुद्रामा देखिन्थे । एक भव्य कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले उद्घाटन गरेका थिए ।
कार्यालय उद्घाटन समारोहमा बोल्दै यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख लोकबहादुर सुनारले लामो समयको प्रयासपछि कोहलपुरमा सेवा कार्यालय स्थापना गर्न सफल भएको बताए । उनका अनुसार यहाँका नागरिकको आवश्यकता र प्रदेश सरकारको सक्रियतामा कार्यालयको शाखा स्थापना भएको हो ।
कोहलपुरस्थित कार्यालयबाट राजस्व, ब्लुबुक नवीकरण र लाइसेन्स नवीकरण सेवा प्रदान गरिनेछ । अहिले कार्यालयमा एक जना छैटौँ तहका कर्मचारी, एक जना खरिदार, एक जना कम्प्युटर अपरेटर र कार्यालय सहयोगसहित चार जना कर्मचारी खटिएका छन् । उक्त अवसरमा उनले नेपालगन्जस्थित कार्यालयसमेत उपयुक्त स्थानमा सार्ने प्रक्रिया सुरु भएको बताएका थिए । त्यसका लागि प्रदेश सरकारले समेत निर्देशन दिएको छ ।
सरकारको निर्देशनअनुसार कार्यालयले आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए । लुम्बिनी प्रदेश सरकारले गत मंसिर १७ गते कोहलपुर यातायात व्यवस्था सेवा विस्तार गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको निर्णय गरेको दुई महिनापछि कार्यालय स्थापनासँगै सेवा सञ्चालनमा आएको छ ।
‘संघीयताको मर्मअनुरूप यातायातको सेवा’
यातायात व्यवस्था शाखा कार्यालय कोहलपुर, बाँकेको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले संघीयताको मर्मअनुरूप कोहलपुरमा यातायात व्यवस्थाको शाखा कार्यालय स्थापना भएको बताए । ‘संघीयताको मर्म, कोहलपुरको आवश्यकता र कोहलपुरस्थित सरोकारवालाहरूको मागबमोजिम शाखा कार्यालय स्थापना गरिएको हो,’ उनले भने ।
उक्त अवसरमा मन्त्री न्यौपानेले सरकारले आवश्यकतामा आधारित भएर कार्य गर्दै आएको बताए । ‘कोहलपुरमा लामो समयदेखि कार्यालयको माग हुँदै आएको थियो,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यकताको महसुस गरेरै कार्यालय स्थापना गरेको हो ।’
अहिले पनि नेपालगन्जस्थित कार्यालय वैज्ञानिक नरहेको भन्दै उनले कोहलपुरस्थित कार्यालयबाट गुणस्तरीय सेवा गरिने बताए ।
सुरुमा कोहलपुरमा कार्यालय स्थापना गर्ने कुरा हुँदा नेपालगन्जमा विरोध भएको भन्दै त्यहाँका मेयर र राजनीतिक दलसँग छलफल गरेपछि उनीहरू कोहलपुरमा कार्यालय स्थापना गर्न तयार भएको समेत उनले जानकारी दिए ।
प्रदेश सरकारले आवश्यकतालाई मध्यनजर गर्दै बर्दियासहितका जिल्लाहरूमा ट्रायल सेन्टर स्थापना गर्न लागेको समेत बताए ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि कोहलपुर–नेपालगन्ज सडकमा उच्चस्तरीय सीसीटीभी क्यामेरा जडान गर्नु आवश्यक रहेको उनको भनाइ छ । विकास र समृद्धिका लागि सरकारहरूबीच समन्वय हुनु आवश्यक रहेको न्यौपानेले बताए ।
सेवालाई संस्थागत गर्न सांसदहरूको जोड
यातायात व्यवस्था शाखा कार्यालय कोहलपुर, बाँकेको उद्घाटन सत्रमा बोल्दै अधिकांश वक्ताहरूले उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए । लामो समयको अथक प्रयासपछि स्थापना भएको कार्यालयलाई संस्थागत रूपमा दीर्घकालीन बनाउनुुपर्नेमा उनीहरूले जोड दिएका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्य बसन्ती अधिकारीले सामूहिक प्रयास र प्रतिबद्धताका कारण कोहलपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न सफल भएको बताइन् ।
प्रदेशसभा सदस्य सन्जुुकुमारी चौधरीले कोहलपुरबासीको लामो समयको प्रतिक्षाको घडी सकिएको बताइन् । कोहलपुरमा कार्यालय सञ्चालन भएपछि आफूलाई खुसी लागेको बताउँदै उनले यहाँका राजनीतिक दल, स्थानीय सरकार र यातायात व्यवसायीको समन्वयका कारण कोहलपुरको विकासमा इटा थपिएको बताइन् । ‘कोहलपुरमा अरू कार्यालयहरू पनि खुल्न जरुरी छ । एकातिर कार्यालय खुुल्दै छन् । अर्कातिर पर्यटन कार्यालय नेपालगन्ज लैजाने प्रयास हुँदै छ । त्यसो भयो भने यहाँ आन्दोलन हुन्छ । यसमा प्रदेश सरकार गम्भीर हुनुपर्छ,’ प्रदेश सभा सदस्य चौधरीले भनिन् ।
लुम्बिनी प्रदेश सरकारकी पूूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कृष्णा केसी ‐नमुना)ले कोहलपुरमा यातायातको सेवा सुरु हुुनुु महत्वपूूर्ण उपलब्धि भएको बताइन् । कार्यालय स्थापनापछि कोहलपुरसहित राप्ती सोनारी र बैजनाथ गाउँपालिकाका नागरिकले समेत लाभ लिन सक्ने उनको भनाइ थियो । अहिले नगर विकास समितिको सहयोगमा कार्यालय सञ्चालन गरिए पनि आफ्नै स्थायी संरचनाका लागि प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकता दिनुपर्ने प्रदेश सभा सदस्य केसीले बताइन् ।
‘बाँकेमा रहेका कार्यालय बाहिर जाँदै छन् । हामी जिल्लाभित्रै कार्यालय सञ्चालन गरिरहेका छौँ । अरू ठाउँमा समेत कार्यालय स्थापना गर्नुपर्नेछ । त्यसैले भएका बचाआँै । नयाँ ल्याउने विषयमा एकताबद्ध भएर अघि बढौँ,’ उनले भनिन् ।
यस्तै लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले कोहलपुरस्थित कार्यालयको स्थायित्व महत्वपूर्ण पक्ष रहेको बताए । उनले प्रदेश सरकारले कार्यालयलाई संस्थागत गर्न अहिलेदेखि नै प्रयास थाल्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्यसमेत रहेका उनले आगामी बजेटमा कोहलपुरस्थित कार्यालयका लागि थप कर्मचारी र आवश्यक बजेट विनियोजन गरेर गुणस्तरीय सेवा प्रदान गर्नु आवश्यक रहेको बताए । ‘सेवामा सधै नागरिकको पहुँच हुनुपर्छ । नागरिकले घरदैलोमै सेवा पाऊन् । अर्कातिरलाई यसलाई संस्थागत गर्नेतर्फ पनि जोड दिऊँ,’ उनले भने ।
१६ वर्षपछि कोहलपुर फर्कियो यातायातको सेवा
विसं २०६५ सालमा कोहलपुरमा यातायात व्यवस्था कार्यालयअन्तर्गत युुनिट कार्यालय ‐सेवा केन्द्र) स्थापना भएको थियो । उक्त कार्यालयले बाटो इजाजत पत्र नवीकरण र पटके सेवा दिन्थ्यो । कार्यालय एक वर्ष मात्रै सञ्चालन भयो । एक वर्षसम्म भाडाको घरमा सेवा चलेको थियो ।
स्थापनाको एकवर्षमै कोहलपुरको सेवा खोसेर नेपालगन्ज लगियो । यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोहलपुरमा सञ्चालित सेवा बन्द गरिदिएपछि यहाँका नागरिक नेपालगन्ज जान बाध्य भएका थिए । एकाएक कोहलपुरमा सञ्चालित सेवा बन्द गरेपछि यहाँका नागरिकले विरोधसमेत जनाएका थिए ।
कार्यालय खुल्नुभन्दा अघिल्लो वर्ष कोहलपुरको एक सर्वपक्षीय टोलीले तत्कालीन यातायातमन्त्री रमेश लेखक ‐हाल गृहमन्त्री)लाई भेटेरै कार्यालयका लागि माग गरेको थियो । उक्त टोलीको नेतृत्व गरेका तत्कालीन कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ राजनीतिक दल र व्यवसायीहरूको टोलीले लिखित रूपमा सेवा कार्यालयको माग गरेको सम्झन्छन् । उनका अनुसार त्यसलगत्तै कोहलपुरमा सेवा केन्द्र र ट्रायल सेन्टर खुलेको थियो ।
‘१६ वर्षपछि सेवा फर्किएको छ । हामी खुसी छौँ । अब कार्यालयको पक्की संरचना बनाउनुपर्छ । ट्रायल सेन्टरलाई व्यवस्थित बनाउनुपर्छ,’ श्रेष्ठले मिसन टुडेसँग भने ।
अकस्मात सेवा केन्द्र बन्छ भएपछि कोहलपुरबासीमा निराशा छाएको थियो । त्यसपछि झन् यहाँका सरोकारवाला कार्यालय सञ्चालनका लागि एकजुुट हुन पुुगे । पछि सामूहिक रूपमै कोहलपुरबासीले यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्ने माग अघि सारे । त्यसका लागि निरन्तर पहल गरिरहे । संस्थागत रूपमै कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना हुनुपर्छ भन्ने माग उठ्यो, २०७०-०७१ तिर ।
त्यसको नेतृत्व ग¥यो, बागेश्वरी यातायात प्रालिले । प्रालिकै अगुवाइमा यहाँका राजनीतिक दल, व्यवसायी र अन्य सरोकारवाला सेवा सञ्चालन हुनुपर्ने माग गर्दै संघीय सरकारसँग डेलिगेसनमा गए । उक्त टोलीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेरै कोहलपुरमा सञ्चालित सेवा किन बन्द गरियो ? अब कोहलपुरमा यातायात व्यवस्थाको सेवा सञ्चालन हुनुपर्छ भनेर लिखित रूपमा माग गरेका थिए । प्रालिका अध्यक्ष तथा व्यवसायी मनप्रसाद आचार्य त्यतिबेला स्वर्गीय कोइरालाले कोहलपुरमा सेवा कार्यालय खोल्न पहल गर्ने प्रतिबद्धता गरेको बताउँछन् ।
उनका अनुसार त्यसपछि विभिन्न सरकारको पालामा विभिन्न राजनीतिक दल तथा व्यवसायीहरूले यसका लागि पहल गर्दै आएका थिए । सबै प्रयासहरूको जोडबलबाट अहिले कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालय स्थापना भएर सञ्चालनमा आएको छ । नगर विकास समितिको सहयोगमा यसअघि नै कोहलपुरमा ट्रायल सेन्टर सञ्चालनमा छ ।
आगामी दिनमा कोहलपुरस्थित कार्यालयबाट सवारी मेकानिकल जाँच पास, नयाँ लाइसेन्स वितरणलगायतका सम्पूर्ण सेवा प्रवाह हुनुपर्ने यहाँका नागरिकको माग छ ।
प्रतिक्रिया दिनुहोस्