आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवलाई निर्देशन दिएका थिए । तर, मंगलबार सचिवले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गर्दा सभामुखले नै दुई दिन रोक्न निर्देशन दिएको बुझिएको छ ।कैलाली ।
सुदूरपश्चिम प्रदेश सभा अन्र्तगतको विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन । सत्ता गठबन्धन दलले दलगत समिति सभापतिको टुंगो लगाए पनि नामावलीमा सहमति जुटाउन नसक्दा विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक हुन नसकेको जनाइएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले विषयगत समितिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवलाई निर्देशन दिएका थिए । तर, मंगलबार सचिवले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गर्दा सभामुखले नै दुई दिन रोक्न निर्देशन दिएको बुझिएको छ ।
‘निर्वाचन कार्यतालिकाबारे सभामुखज्यूलाई सोध्न गएको थिएँ । तर, दुई तीन दिन रोक्न भन्नुभएको छ,’ सचिव देवबहादुर बोगटीले भने, ‘कार्यतालिका निकाल्न किन ढिलाइ भएको हो मलाई जानकारी छैन । हामीले भनेको समयमै सार्वजनिक गर्न तयार छौँ ।’
बैठकमा सभामुख भण्डारीले भनेका थिए, ‘अन्य समितिको स्थगित निर्वाचन सूचारु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रदेश सभा सचिवलाई निर्देशन दिन्छु ।’ तर, सभामुखकै अनुरोधमा ढिलाइ हुँदै गएको जनाइएको छ ।
आइतबार बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले विशेषाधिकार समिति थपिएको जानकारी गराएका थिए । विषयगत समितिमा सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को नियम १७७ बमोजिम पाँच जना प्रदेशसभा सदस्यलाई मनोनयन गरेको जानकारी दिएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई तथा माओवादी केन्द्रबाट एक जना प्रदेश सभा सदस्यको समितिमा मनोनयन भएको हो ।
नेकपा एमालेबाट संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र प्रदेश सभा सदस्य जानकी ऐर बम, नेपाली कांग्रेसबाट मधुदेवी भारती र तुलसी देवकोटा तथा माओवादी केन्द्रबाट संसदीय दलका नेता मानबहादुर धामीलाई समितिको सदस्यका रूपमा मनोनयन गरिएको सभालाई जानकारी दिइएको थियो ।
गत पुस ११ गते मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा बसेको सत्ता साझेदार दलको बैठकले विषयगत समिति थप गर्ने निर्णयसँगै विषयगत समितिको नेतृत्वको विषयमा सहमति गरेको थियो । विशेष समिति थप्ने तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टी, सामाजिक विकास समितिमा एमाले, सार्वजनिक लेखा समिति माओवादी केन्द्र र विशेषाधिकार समितिमा नेपाली कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो ।
प्रदेश सभाका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार समितिमा सबै दलको प्रतिनिधित्व गर्दै थप चार जना प्रदेश सभा सदस्यको मनोनयन गर्ने तयारी छ । ‘विशेषाधिकार समितिको सभापति पनि अन्य समितिकै जस्तो निर्वाचन प्रक्रियामार्फत टुंगो लगाइनेछ,’ उनले भने, ‘त्योअघि बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेछ ।’
विषयगत समिति थप भएसँगै आर्थिक भार पनि थप हुनेछ । समिति सभापतिलाई गाडी र इन्धनको सुविधा हुन्छ भने सभापति र सदस्यहरूलाई भत्ताको व्यवस्था पनि हुन्छ । एउटा समिति थप भएसँगै सुदूरपश्चिममा विषयगत समितिको सङ्ख्या पाँच पुगेको छ ।
विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समिति यसअघि नै थिए । तर, विधायन तथा प्रदेश मामिला समितिमा मात्रै सभापति छन् ।
आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै
सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको चौधौँ बैठक आज (बुधबार) बस्ने भएको छ । बिजनेस अभाव झेलिरहेको प्रदेश सभाको आज बस्ने बैठकमा एक विधेयक पेस हुने कार्यसूची रहेको छ ।
प्रदेश सभा सचिव देवबहादुर बोगटीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्ने कार्यसूची रहेको बताए । उनले भने, ‘सार्वजनिक लेखा समितिको प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन । प्रज्ञा विधेयक पारित हुने गरी बैठकमा पेस हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्