सुर्खेत ।
सिमिकोट गाउँपालिका–२ ठेहे गाउँ हुम्लाकी २२ वर्षीया सुत्केरी आशा परियारको जिल्ला अस्पताल हुम्लाामा जटिल शल्यक्रिया भएको छ । उक्त शल्यक्रियामार्फत जन्मिएका २ वटा बच्चा र आमाको ज्यानसमेत सुरक्षित बनेको हो ।
यो सेवासँगै जिल्ला अस्पताल हुम्लामा सुत्केरीको जटिल शल्यक्रिया पनि सफल हुन्छ भन्ने गतिलो उदाहरण देखिएको छ । अध्याधुनिक उपकरणहरूको अभावका बीच जटिल शल्यक्रियामार्फत सुत्केरी आमा र उनले जन्म दिएका २ वटै बच्चाको ज्यान जोगिएपछि आफन्तहरू निकै खुसी भएका छन् ।
अस्पतालका डाक्टर प्रतीक्षा भारतीका अनुसार पुस २९ गते सुत्केरी अस्पताल भर्ना भएकी थिइन् । उनका अनुसार सुत्केरी परियारले जुम्ल्याहा दुई छोरी जन्माएकी छन् । हाल उपलब्ध डाक्टरहरूको सक्रिय सेवाका कारण जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण अभाव हुँदा पनि बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता हट्दै गएको उनले बताइन् ।
‘यसअघि पनि अस्पतालमा सुत्केरीको शल्यक्रिया हुँदै आएको थियो । तर आशा परियारको शल्यक्रिया झन् जटिल थियो । यसमा हामी सजिलै आमा र २ वटै बच्चाको ज्यान जोगाउन सफल भयौँ,’ उनले भनिन्, ‘करिब ३५ हप्तामै बच्चा जन्मिँदा कम तौलका बच्चा जन्मिए । तर पनि स्वास्थ्यकर्मीको निगरानीका कारण अहिले आमा र बच्चाहरू दुवैको स्वास्थ्य अवस्था ठीक छ ।’
जिल्ला अस्पातल हुम्लामा हाल ८० प्रतिशत दरबन्दी पूर्ति भएको बताउँदै डाक्टर प्रतीक्षाले तत्कालका लागि औषधिहरू पनि अभाव नरहेको जानकारी दिइन् । ‘आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो । तर हाम्रो टिमको सक्रियताका कारण सबै समस्या समाधान पनि भयो,’ उनले भनिन्, ‘हाल चिसोले अलि समस्या बनाएको छ । तर हामीले उपलब्ध उपकरण र जनशक्ति अनुसार सेवामा कमी हुन दिएका छैनौँ ।’
यस्तै अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जानकारी दिए । उनका अनुसार हुम्लाबासीलाई अब सुत्ेकरीको शल्यक्रिया गर्न नेपालगन्ज, सुर्खेेतलगायत बाह्य जिल्ला जानुपर्ने र लाखौँ रकम खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्