ठकुरी एम्सको नेपाल दूत नियुक्त



नेपालगन्ज ।

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को नेपाल दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई दूत नियुक्त गरिएको मनोनयन पत्र पठाएको ठकुरीले जानकारी दिए ।

एम्सको सदस्यताका विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सूचित गर्ने, एम्सका गतिविधिलाई समन्वयकर्ताका रूपमा कार्य गर्ने, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्डसमक्ष निरन्तर रिपोर्टिङ गर्नुपर्ने जिम्मेवारी रहेको ठकुरीले बताए । एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता विस्तार कार्यलाई प्रवद्र्धन गर्नुपर्ने र सदस्यता विस्तार कार्यलाई प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । ठकुरीले एम्सको इतिहासमा २४औँ वल्र्ड कंग्रेसमा भाग लिँदै २५औँ वल्र्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेस गर्दा ६५ मत प्राप्त भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वल्र्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो । एम्स संसारभर एक सय बीस देशमा झन्डै साढे चार सय रेस आयोजकहरू सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो ।

विश्व समुदायलाई नेपालसम्बन्धी जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिनसमेत प्रकाशन गर्दै आएका छन् । नेपालगन्ज म्याराथनले एक दशक यात्रा पूरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १० किमी नाइट रन, राप्ती सोनारी नेचर रन र गौघाट ग्रिन रन पनि सुरुवात गरेको छ । यसैगरी बौद्धिक बहस गर्ने थलोका रूपमा नेपालगन्ज कनक्लेभसमेत आयोजना गर्दै आएको छ ।

खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण इटलीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स (फिक्ट्स)ले समेत यअसघि ठकुरीलाई नेपालका लागि दूत नियुक्त गरिसकेको छ । यी जिम्मेवारीले नेपालमा दौड संस्कृतिको प्रवद्र्धनमा आक्रामक ढंगले अघि बढ्दै समग्र खेलकुद संस्कृतिको विकासमा लाग्न अभिप्रेरित गरेको ठकुरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार