कोहलपुर ।
हेर्दाहेर्दै धेरै कुराहरू बदलिएका छन् । हाम्रा गाउँसमाजमा केही भौतिक विकास भए पनि हाम्रा कतिपय परम्परा, संस्कार र संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् । बढ्दो आधुनिकीकरणसँगै हाम्रा भाषा, संस्कृति र सभ्यतामाथि अतिक्रमण भइरहेका छन् ।
यिनै कुरालाई मध्यनजर गर्दै कोहलपुरस्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले एक गोष्ठीको आयोजना गरेको छ । प्रतिष्ठानले कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ मा रहेको ठूलो र पुरानो थारू गाउँ रझेनामा ‘बदलिँदो थारू समाज र साहित्य’ विषयक विचार गोष्ठी आयोजना गरेको हो ।
थारू समुदायको विशेष पर्व माघी र राष्ट्रिय एकता दिवसको अवसर पारेर थारू समुदायका परम्परागत भाषा, संस्कृति, भेषभूषा र खानपानललागयतका कुरालाई उजागर गर्ने गरी कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्करनाथ रिजालले जानकारी दिए ।
‘साहित्य केवल साहित्यकारको मात्र सरोरकारको विषय होइन,’ प्रतिष्ठानका अध्यक्ष रिजालले भने, ‘साहित्य समाजकै सम्पत्ति र सरोरकारको विषय भएकाले साहित्य र समाजको सम्बन्धका व्यावहारिक पक्षहरूलाई देखाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।’
प्रदेश सांसद सन्जु चौधरीले साहित्यिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रझेना गाउँमा आएर पूर्णिमाले गरेको कार्यक्रम बौद्धिक र ऐतिहासिक हिसाबले अर्थपूर्ण रहेको धारणा राखिन् । थारू साहित्यको इतिहास र वर्तमानबारे कार्यपत्र प्रस्तुत गर्दै डा. कृष्णराज सर्वहारीले पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकहरूले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय भएको बताए ।
त्यस्तै, डा. राजकुमार थारूले थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउनु जरूरी भएको बताए । टिप्पणीकार शेखर दहितले विश्वव्यापीकरण र समयको मागअनुसार विकास र परिवर्तन हुने भए पनि भाषा संस्कृति नै मौलिक पहिचान भएकाले आफ्नो भाषा र संस्कृति बिर्सन नहुने बताए ।
कोहलपुर नगरपालिका–५ र ६ का वडाध्यक्षहरू दिपेन्द्र श्रेष्ठ र श्रीकृष्ण थारू, प्राज्ञ महानन्द ढकाल, प्राज्ञ हरिप्रसाद तिमिल्सिनालगायतले सो अवसरमा आआफ्ना भनाइ राखेका थिए । कार्यक्रममा बडघर, गुरुवालगायत थारू समुदायका गन्नेमान्ने व्यक्तिहरूका साथै साहित्यकार, पत्रकार र स्थानीयको उल्लेखनीय उपस्थिति थियो ।
उक्त अवसरमा थारू नृत्य तथा सांस्कृतिक गायन प्रस्तुत गरिएको थियो । सम्पूर्ण आमन्त्रित महानुभावलाई थारूहरूको लोकप्रिय खाना ढिकरी र कचालु (अचार) नास्ताको रूपमा खुवाइएको थियो । प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्