चर्को आवाज बनाएर मोटरसाइकल चलाउने कारबाहीमा



श्यामलाल पोखरेल । बुटवल ।

स्वरूप परिवर्तन गरी तीव्र गतिमा चर्को आवाज निकाली चलाइएका मोटरसाइकललाई बुटवलमा प्रहरीले नियन्त्रणमा लिन थालेको छ । यसअघि ध्वनी प्रदूषण हुने गरी आवाज निकालेर मोटसाइकल नचलाउन आग्रह गरेपनि अटेर गरेर चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।

प्रहरीले ठूलो आवाज निकालेर सडकमा चलाउँदै गरेका ११ वटा मोटरसाइकल नियन्त्रण लिएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले ११ वटा मोटसाइकल एकैदिन नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा भटभट् पड्काउँदै हिड्नेहरूलाई नियन्त्रणमा लिएर कारवाहीको लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको ट्राफिक प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिए ।

हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरूमा आएका भिडियो तथा पोष्टको आधारमा गलत गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रणमा लिएर कारावाही गर्नुको अर्को विकल्प नभएको प्रहरीले जनाएको छ ।

विभिन्न समयमा नियन्त्रणमा लिएका अन्य १७ वटा मोटरसाइकलका धनीलाई जरिवानासहित कारबाहीका लागि प्रक्रिया अघि बढाएको शुक्रबार पत्रकार सम्मेलन गरी ट्राफिक प्रहरीले जनाएको छ । ट्रापिकले चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राजस्व संकलन गरेको थियो ।

ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारी धनीबाट जरिवाना उठाउने गरेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी ट्राफिक प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसार बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेको आधारमा ३ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार