गोवर्धन धाममा रमाएको यो मन



पुस १५ गतेका दिन गोवर्धनधाम यात्राको जानकारी थियो । म मानसिक रूपमा तयार भएर १५ गते बिहानै स्कुटर चढेर हुइँकिएँ बाके जिल्लाको नरैनापुर गाउँपालिकामा रहेको एउटा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य ‘गोवर्धन धाम’ तिर । घुमफिरमा रुचि राख्ने मेरा लागि यो एउटा उत्कृष्ट अवसर थियो ।

सतिश निरौला ।

विभिन्न कालखण्डमा जनता मावि सन्तकुटी खजुरा हालको नमुना जनता मावि पढेका पूर्वविद्यार्थीहरूले सङ्गठित हुँदै औपचारिक रूपमा नै दर्ता गरेको संस्था हो, जनता मावि पूर्वविद्यार्थी समाज । म पनि ६ देखि १० कक्षासम्म जनता मावि सन्तकुटी पढेका नाताले त्यही समाजको सदस्य बनेको छु । एउटा संयोग मेरो बुबा, म र कान्छी बहिनी हामी तीनै जनाले यही स्कुलबाट एसएलसी पास गरेका हौँ ।

समाजका अध्यक्ष झबी शर्माले एउटा नोटिस समाजको गु्रप म्यासेजमा चढाउनासाथ मेरो फोनले मलाई नोटिस ग¥यो । जसमा पुस १५ गतेका दिन गोवर्धन धाम यात्राको जानकारी थियो । म मानसिक रूपमा तयार भएर १५ गते बिहानै स्कुटर चढेर हुइँकिएँ बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा रहेको एउटा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य ‘गोवर्धन धाम’ तिर ।

घुमफिरमा रुचि राख्ने मेरा लागि यो एउटा उत्कृष्ट अवसर थियो । सबै जना आ–आफ्नो साधन लिएर त्यहाँ पुग्ने सूचनाअनुसार सबैले आफ्ना साधन लिएर पुग्नुभएको थियो ।

नेपालगन्जको धम्बोजी चोकदेखि ४४ किलोमिटरको दूरीमा रहेको गोवर्धन धाम सुन्दर चुरे पहाडको डाँडामा रहेको छ । त्यो दिन खजुरा जनता माविका पूर्वविद्यार्थीसँगै नेपालगन्जको एउटा समूह पनि त्यहाँ गएको थियो, मिथिला समाजको । हामी जनता माविका ५० जनाभन्दा बढी पूर्वविद्यार्थी त्यहाँ पुगेका थियौँ । धेरै पुराना विद्यार्थी अग्रजहरू पनि हुनुहुन्थ्यो । मेरो २०५३ का ब्याजीमा मबाहेक सहपाठी रत्ना कार्की र भीम नेपाली पनि थिए ।

डाँडामा रहेको गोवर्धन धाममा पुगेका सम्पूर्ण आन्तरिक पर्यटकलाई नरैनापुर गाउँपालिकाका पालिका प्रमुख, वडाध्यक्ष, पालिकाका कर्मचारी र स्थानीयले भव्य स्वागत गरे । कार्यक्रम नरैनापुर गाउँपालिकासँगको समन्वयमा गरिएको हुँदा पालिकाले पर्यटन प्रवद्र्धनका लागि भनेर यो कार्यक्रमलाई विशेष बनाएको थियो ।

पालिका प्रमुखको पर्यटनप्रतिको सकारात्मक बुझाइ र काम गराइले पछिल्लो केही वर्षयता आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गइरहेको छ नरैनापुर । चुरेका मनोरम डाँडाहरूमा रहेको गाईलेक, सन्तानेश्वर महादेव, बाबा बर्फानी मन्दिर, गोवर्धन धाम, सुन्दरमुन्दर, चाँदी महल यहाँका विशेष गन्तव्य हुन् ।

गोवर्धन धामदेखि १५ मिनेटको हाइकिङपछि एउटा मनमोहक झरना भेटिन्छ जसको अहिलेसम्म नामकरण भएको छैन । त्यसैले गोवर्धन धामको छेउमा भएको हुँदा त्यसको नाम ‘बासुदेव झरना’ सुझाएँ मैले । बाँकी गाउँपालिकाले निर्णय गरोस् ।

हामी झरना पुगेर केही थान फोटो खिचायौँ, रिल्स र टिकटकका लागि केही छोटा भिडियोहरू पनि बनायौँ । हाम्रो झरनासम्मको पदयात्रामा गु्रपमा दीपबहादुर महतरा दाइ, अमरनाथ योगी दाइ र भाउजू, गिरिराज चन्द दाइ र सुशीला भाउजू, रमेशकुमार मल्ल दाइ म अनि रत्ना कार्की थियौँ । झन्डै आधा घन्टा रमणीय झरनामा रमाएर पुनः गोवर्धन धाम मन्दिर पुगी भोजन प्रसाद ग्रहण गरी हामी फर्कियौँ, एउटा रमाइलो र यादगार पलहरू मनमस्तिष्कमा कैद गर्दै ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार