गोरखा युनाइटेडमा खेलकुद सप्ताह



गोरखामा हरेक वर्ष छात्र–छात्राबीच अन्तर सदनात्मक फुटबल र एथलेटिक्सका साथै शिक्षक–कर्मचारीबीच प्रतिस्पर्धा हुनेगरी खेलकुद सप्ताह सञ्चालन हुदै आएको छ । विद्यालयका संस्थापकले २०६८ सालदेखि आफ्नो छुट्टै कोष स्थापना गरेर खेल सञ्चालन गर्दै आएका छन् ।

कोहलपुर ।

कोहलपुुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा खेलकुुद सप्ताह सुुरु भएको छ । स्कुलमा आइतबारदेखि खेलकुद सप्ताह तथा संस्थापक कप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको स्कुलका संस्थापक/सञ्चालक केशरबहादुर आलेले दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । उनको हातबाट विद्यार्थीहरूलाई बल प्रदान गरेर खेलको उद्घाटन गरिएको थियो । विद्यालयका संस्थापकले २०६८ सालदेखि आफ्नो छुट्टै कोष स्थापना गरेर खेल सञ्चालन गर्दै आएका छन् ।

गोरखामा हरेक वर्ष छात्र–छात्राबीच अन्तर सदनात्मक फुटबल र एथलेटिक्सका साथै शिक्षक–कर्मचारीबीच प्रतिस्पर्धा हुनेगरी खेलकुद सप्ताह सञ्चालन हुदै आएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक-सञ्चालक आलेले विद्यार्थीलाई पाठ्यक्रमको ज्ञान मात्र नदिएर उनीहरूभित्र रहेको प्रतिभालाई खेलको माध्यमबाट चौतर्फी विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । एउटा मानवलाई स्वस्थ्य रहन शारीरिक, मानसिक जस्ता संवेगात्मक विकासको समेत आवश्यक हुने उनले बताए । उनका अनुसार ती सबै कुराको विकास हुन खेलकुद अत्यावश्यक छ ।

गोरखा युनाइटेड पब्लिक स्कलकी प्रधानाध्यापक साधना थापाले स्कुलले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको बताइन् । सोही अनुसार शिक्षक, विद्यार्थी र संस्थापक टिम सम्मिलित प्रतियोगिता हरेक वर्ष सञ्चालन हुुँदै आएको उनले बताइन् ।

प्रतियोगितामा प्रथम हुुनेले २९ हजार, दोस्रो हुनेले ११ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने खेल संयोजक खगेन्द्र पौडेलले बताए । उनका अनुसार संस्थापक शिक्षक तथा कर्मचारीबीच हुने प्रतियोगितमा प्रथम स्थान हासिल गर्ने टिमले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी महिला शिक्षक र कर्मचारीबीच हुने खेलका विजयी टिमलाई ३ हजार नगद पुरस्कारको व्यवस्था रहेको संयोजक पौडेलले जानकारी दिए ।

आइतबार पहिलो दिनको प्रतियोगिताअन्तर्गत छात्र अन्तर सदनात्मक फुुटबल खेल भएको थियो । उक्त उद्घाटन खेलमा पहेँलो सदन विजयी भएको पौडेलले मिसन टुुडेलाई जानकारी दिए ।

उनका अनुसार पहेँलो सदनले रातो सदनलाई १ गोलका विरुद्ध २ गोल गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो टिमलाई जिताउनका लागि सम्राट बिसी र समिर रिजालले गोल गरेका थिए । रातो सदनका कपिल हितानले सान्त्वना गोल गरे । प्रतियोगिता आगामी पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार