खड्कवार–घुइयाबारी सडकमा पदयात्रा गर्दै कांग्रेस



बाँके ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले खड्कवार–घुइयाबारी सडकखण्डमा पदयात्रा गर्ने भएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर क्षेत्र नम्बर १ ले उक्त सडकखण्डमा पदयात्रा गर्न लागेको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीका अनुसार उक्त पदयात्रा मंगलबारबाट सुुरु हुनेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सयदिने अभियानअन्तर्गत सडकखण्डका लागि बजेट विनियोजन गर्न दबाब दिने उद्देश्यले सो पदयात्रा गर्न लागिएको उनले जानकारी दिए । पदयात्रा अभियानअन्तर्गत बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि कांग्रेस केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको नेतृत्वमा सो पदयात्रा सुरु हुनेछ ।

पदयात्रामा ३० जनाको टोली सहभागी हुने सभापति केसीले जानकारी दिए । मंगलबार पदयात्रा शुुभारम्भ कार्यक्रम कोहलपुुर–१२ स्थित खड्कवारमा विशेष कार्यक्रम आयोजना गरिने र त्यसपछि पदयात्रा सुुरु हुुने केसीको भनाइ छ ।

कोहलपुरको खड्कवार हुँदै सल्यान घुइयाबारी जोड्ने उक्त सडक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । ‘यो सडक सल्यान–कोहलपुर आउजाउका लागि सहज र छोटो छ । सल्यानबाट कोहलपुर–नेपालगन्ज झर्न उपयुक्तसमेत छ,’ केसीले भने, ‘तर, यसको निर्माण हुन सकेको छैन । हामीले यसको निर्माणका लागि दबाब दिन पदयात्रा गर्न लागेका हौँ ।’

यो सडक दूुरीका हिसाबले पनि अत्यन्त छोटो छ । खड्कवार हुँदै सल्यान घुइयाबारी पुग्न २० किलोमिटरभन्दा कम छ । यो सडकको परिकल्पनाकार नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला भएको केसीको दाबी छ ।

तत्कालीन जनप्रतिनिधिद्वारा खड्कवार–घुइयाबारी सडकका लागि विनियोजित बजेटबाट बबई–छिन्छु–सुर्खेत सडक निर्माण गरिनेसमेत उनले जानकारी दिए । उक्त सडक निर्माणका लागि यहाँका पार्टी र जनप्रतिनिधिहरूले बेलाबेला दबाब दिदैँ आएका छन् ।
प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएका बेला उक्त सडकका लागि बजेट विनियोजन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार