नेपालगन्जद्वारा कोहलपुरलाई पुराना पोल उपहार



कोहलपुर (बाँके) ।

सडक बत्तिका लागि नेपालगन्ज उपमहागरपालिकाले कोहलपुर नगरपालिकालाई ५ वर्ष प्रयोग भइसकेका पोलहरू उपहार दिएको छ । नेपालगन्जमा लामो समय प्रयोग भएर थन्किएका र बिग्रिएका ३० थान पोलहरू उपमहानगरपालिकाले कोहलपुरलाई उपहार दिएको हो ।

सोलारका लागि नेपालगन्ज बजार क्षेत्रमा लामो समय प्रयोग गरेर बिग्रेका, कवाड भइसकेका रंग खुइलिसकेका पोल सहयोगको लागि कोहलपुर नगरपालिकाले नेपालगन्ज उपमहानगरलाई पत्र नै काटेको थियो । कोहलपुर नगरपालिकाले ३० थान विद्युत पोल सहयोग गरिदिन पत्र नै लेखेपछि सहयोग गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी खिमानन्द पौडेलले कोहलपुरलाई उपहार दिइएका पोलहरू सुर्खेतरोडमा पाँच वर्ष प्रयोग भइसकेका रहेको मिसन टुडेलाई जानकारी दिए । उनले दिएका जानकारी अनुसार सडक विभागको सहयोगमा त्यहाँ सुविधा सम्पन्न स्टेट लाइट जडान गरेपछि सबै पोल थन्काइएको थियो ।

‘२०७४/०७५ तिर जडान गरिएका थिए । चार पाँच वर्ष प्रयोग भएपछि हामीले निकालेर राखेका थियौँ । कोहलपुर नगरले सहयोग मागेपछि दिएको बुझिएको छ’ उनले मिसन टुडेसँग भने । ती पोलहरू पाँच वर्षसम्म सोलारका लागि प्रयोग गरिएको थियो । पोलहरूमा समस्या रहेपनि केही रंगरोहन र मर्मत गरेर प्रयोग गर्न मिल्ने भएका कारण सहयोग गरिएको सूचना अधिकारी पौडेलले दाबी गरे ।

नेपालगन्ज उपमहागरकाका प्रमुख प्रशान्त विस्टले पोल सहयोग गरिदिन कोहलपुर नगरपालिकाले पत्र नै काटेको जानकारी दिए । छिमेकी स्थानीयले सहयोग मागेपछि अन्तरपालिका सहयोग र समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै ३० थान पोल सहयोग गरिएको उनले बताए ।

तीन महिनाअघि उपमहानगरले पाँच वर्ष प्रयोग गरेर थन्काएर राखेका ३० थान पोलहरु कोहलपुरलाई हस्तान्तरण गरेको नगरप्रमुख विस्टले मिसन टुडेलाई जानकारी दिए । ‘हामीसँग पुराना पोल थिए । प्रयोग गरेर केही बिग्रेका पनि थिए । उपमहानगरले त्यसै थन्काएर राखेको थियो । सहयोग मागेपछि हामीले प्रदान गरेका हौँ,’ उनले भने ।

उनले पनि उपमहानगरले ती पोल पाँच वर्ष प्रयोग गरेको पुष्टि गरे । प्रयोग भइसकेका भएका कारण कति मूल्यका थिए भन्ने चासो नै नराखेको उपमहानगरले जनाएको छ । अन्तरपालिका समन्वयलाई थप मजबुत बनाउने सहयोग आदानप्रदानको संस्कृति विकासका लागि पनि यस्ता कार्य गर्नुपर्नेमा नगर प्रमुख विस्ट बताउँछन् ।

कोहलपुर नगरपालिकाले भने छिमेकी पालिकाले पोल सहयोग गरेको भन्दै कृतज्ञता प्रकट गरेको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विशेषगरी नेपालगन्जका नगरप्रमुख प्रशान्त विस्टलाई कोहलपुरलाई पोल सहयोग गरेको भन्दै कोहलपुरबासीको तर्फबाट आभार प्रकट गरेका छन् ।

नगर प्रमुख आचार्यले भनेका छन्, ‘नेपालगन्जले कोहलपुरको अभिभावकत्व निर्वाह गर्नुपर्छ । आगामी दिनपनि हामी यो सद्भावको अपेक्षा गर्दछाँै ।’ नेपालगन्जले ३० थान विद्युत पोल उपलब्ध गराई कोहलपुरको सहरी सौन्दर्य बढाउन सहयोग पु¥याएको नगरप्रमुख आचार्यको भनाइ छ । ती पोल कोहलपुर–नेपालगन्ज सडकको गोल्छा पिपरी खण्ड करिब एक किलोमिटर क्षेत्रमा जडान गरिएको छ ।

‘त्यहाँ बत्ती समेत बलिसकेको छ । नेपालगन्जले विस्थापन गरेर राखेका पोलहरू थिए । हामीले ल्याएर, केही मर्मत सम्भार परेर प्रयोगमा ल्याएका हौँ,’ कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार