स्थानीय प्रशासन र प्रहरीको मिलोमतोमा जिल्लामा लागेका र हाल सञ्चालनमा भइरहेका मेला महोत्सवमा दैनिक लाखौं रूपैयाँको जुवा हुने गरेको छ । उनीहरूलाई केही राजनीतिक दलका नेताहरूले समेत साथ दिइरहेका छन् । अहिले चलिरहेको कोहलपुरमा महोत्सवमा समेत सुरुकै दिनदेखि मञ्च अगाडि नै दुई स्थानमा जुवा भइरहेकोमा सुरक्षाकर्मी र नगरपालिकाले भने देखेर पनि नदेखेझै गरेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँके जिल्लामा भइरहेका परम्परागत मेला महोत्सवमा सुरक्षाकर्मीहरूलाई प्रभावमा पारेर एक समूहले जुवा खेलाउने गरेको पाइएको छ । स्थानीयदेखि माथिल्लो तहका सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर मेला महोत्सवमा दैनिक लाखौं रूपैयाँको जुवा भइरहेको हो ।
यसअघि राप्ती सोनारी, बैजनाथ, जानकी, डुडुवा लगायतका पालिकामा भएका स्थानीय परम्परागत मेलामा जुवा,चिठ्ठा लगायतका कानूनले रोक लगायतका गतिविधि भएका थिए । एकसाता कोहलपुरमा सञ्चालित महोत्सवभित्रै दैनिक लाखौं रूपैयाँको जुवा भइरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोहलपुर नगर प्रहरीको सुरक्षा घेराभित्रै भीम खत्रीको समूहले पुस ९ गतेदेखि नै दैनिक जुवा खेलाइरहेको हो । मिसन टुडे टिम बिहीबार महोत्सव स्थलमा पुग्दा दुई स्थानमा जुवा भइरहेको थियो । जुवा भइरहेको चारैतिर सुरक्षाका लागि सुरक्षाकर्मीहरू खटिएका थिए ।
तर,इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले भने महोत्सवमा जुवा हुने गरेको सूचना नआएको बताए । ‘प्रहरीले पैसा खाएर जुवा खेलाउन दिएको छ भन्नेकुरा सय प्रतिशत गलत हो’ उनले मिसन टुडेसँग भने, ‘हामीले थाहा पाएसम्म यस्ता गतिविधि रोकेका छौँ ।’ बिहीबार साँझमात्रै एक जनालाई पक्राउ गरिएको र अन्य केही भागेको डिएसपी भण्डारीले जानकारी दिए ।
प्रहरीको एक्लो प्रयासले मात्रै यस्ता गतिविधि नियन्त्रणमा लिन सम्भव नहुने भन्दै उनले सरोकारवालाहरूले समेत सहयोग गर्नुपर्ने बताए । प्रहरीले यसो भनिरहँदा मञ्च अगाडि प्रहरी घेरामै दुई स्थानमा भइरहेको जुवामा दैनिक लाखौंैको खेल हुने गरेको छ । महोत्सवभित्र नागरिकहरू खुलेआम ठगिरहँदा प्रहरी भने थाहा नपाएझै गरेर बसेको स्थानीय कमल थापाले बताए ।
‘मञ्चकै अगाडि जुवा खेलाएर बढी पैसा जित्न सकिने प्रलोभन देखाएर गाउँबाट आएका मान्छेलाई खुलेआम लुटिरहेका छन्’ उनले मिसन टुडेसँग भने, ‘प्रहरीहरू भने उनीहरूलाई नै सुरक्षा दिएर बस्छन् । यो कस्तो कानून हो ।’
कोहलपुर नगरपालिकाको अनुमतिमा कोहलपुरमा जारी प्रथम कृषि पर्यटन प्रवद्र्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एक्पो–२०८१) को नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर, बाँकेले गरेको थियो ।
आयोजकलाई धेरै रकम दिने तथा प्रशासन र प्रहरीलाई आफैँ मिलाउने सर्तमा बाल उद्यानको समेत जिम्मा पाएका भीम खत्रीको समूहले कानूनले बर्जित गरेका जुवा लगायतका ठूलो रकम हारजित हुने खेलहरू महोत्सवभित्रै खेलाइरहेको छ । खत्रीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर अफ रहेको थियो ।
यी गतिविधि अनुमति दिएको कोहलपुर नगरपालिकाले बनाएको मेला महोत्सव व्यवस्थापन कार्यविधि–२०७९ विपरित रहेका छन् । कार्यविधिको परिच्छेद ४ मा मूल आयोजकले पालना गर्नुपर्ने-गराउनुपर्ने शर्तहरूबारे उल्लेख रहेको छ । सोही परिच्छेदको बुँदा नम्बर १४ मा ‘जुवा, तास कानून बमोजिम निषेधित कार्य गर्न गराउन पाइने छैन’ भन्ने उल्लेख गरेको छ । तर, आयोजकले नै कार्यविधि विपरित ठेक्का दिएर खुलेयाम जुवा खेलाइरहेको हो ।
महोत्सवमा भेटिएका राजेश बुढाले महोत्सवको नाममा असुली धन्दा चलिरहेको बताए । उनका अनुसार कोहलपुर महोत्सवमा खुलेयाम जुवाका खेल भइरहेका छन् । यस्ता कार्य नगरपालिका, आयोजक र प्रहरीकै मिलोमतोमा भइरहेको भन्दै आक्रोश व्यक्त गरे । आयोजकले भने मनोरञ्जनका लागि जुवा नभएर अन्य खेलहरू खेलाएको बताएको छ ।
स्रोतका अनुसार महोत्सवबाट पैसा असुलीको लागि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सादा पोशाकमा खटिएका बरिष्ठ प्रहरी हवल्दार मानबहादुर हमालले जिम्मा पाएका छन् । उनले भने आफूले कार्यालयले खटाएको काममात्रै गरेको भन्दै रकम असुलीबारे भने थाहा नभएको दाबी गरे । ‘महोत्सवभित्र जुवा भइरहेकोबारे मलाई थाहा छैन’ उनले मिसन टुडेसँग भने, ‘घरपायक बसेको छ भनेर कसैले रिसले झुठो कुरा लगाएका होलान् ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी भण्डारीले समेत सादा पोशाकका प्रहरीले जुवाबाट रकम असुली गरेको कुराको इन्कार गरे । ‘तल्लो दर्र्जाका प्रहरी कर्मचारीले मेरो आदेशबिना कसरी महोत्सवबाट रकम असुली गर्न सक्छन्’ उनले मिसन टुडेसँग भने, ‘मैले कसैलाई असुली गर्न निर्देशनसमेत दिएको छैन । त्यो हुनपनि सक्दैन । झुठो कुरा हो ।’
यस्तै,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले मेला महोत्सवमा जुवा लगायतका कानूनले रोक लगाएका गतिविधि गर्न नपाइने बताए । यस्ता कार्य गैरकानूनी भएकोले खेलाउन नपाइने उनी बताउँछन् ।
एसपी कार्कीले मेला महोत्सवमा त्यस्ता खेल खेलाइएको पाइए तुरुन्तै प्रहरीले हटाउने गरेको दाबी गरे । ‘हामीले हेर्नुपर्ने हुन्छ । त्यस्तो भइरहेको छ भने हामी हेर्छौ । जिल्लामा कहाँ कहाँ मेला लागेका छन् । हामी खटाउँछौं । भेटियो भने कारबाही हुन्छ ।’ उनले भने मिसन टुडेसँग भने । प्रहरीकै सुरक्षा घेरामा जुवा खेल भइरहेको छ नी ? भन्ने मिसन टुडेको प्रश्नमा उनले इन्कार गर्दै त्यस्तो हुनै नसक्ने दाबी गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाल सार्वजनिक रूपमा जुवातास खेल्न नपाइने बताउँछन् । सुरक्षाका लागि खटिएको प्रहरीले कडाइका साथ हेर्नुपर्ने बताउँदै उनले यस्ता कार्र्यमा स्वयम् आयोजकले ध्यान दिनुपर्ने भन्दै पन्छिन खोजे ।
कोहलपुर महोत्सवमा जुवा खेलाएको पाइएमा कारबाही गरिने सिडिओ रिजालले चेतावनी दिए । ‘कुनैपनि बाहानामा सार्वजनिक स्थलहरूमा जुवा खेल्न पाइदैँन । मेला महोत्सवहरूमा झन् पाइदैँ पाइदँैन । म सम्बन्धित पक्षलाई भन्छु ।’ उनले भने ।
यसरी खेलाइन्छ महोत्सवमा जुवा
महोत्सवभित्र मञ्चकै अगाडि दुई स्थानमा अग्लो भाग बनाएर हात्ती, सुगा, भाले र घोडाको चित्र अंकित फ्लेक्स राखिएको छ । त्यसमाथि घुमाउने भाग राखिएको छ । र हात्ती,सुगा,भाले र घोडाको चित्रमा आफूलाई जहाँ मन लाग्यो त्यहीँ पैसा राख्न लगाइन्छ । अनी माथिको भागलाई घुमाइन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् ।
त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन् या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन् । यो कुरा मेला हेर्न विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुईपटक आएको धेरै पैसाले लोभिएर उनीहरू जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।
प्रतिक्रिया दिनुहोस्