कोहलपुरमा मनाइयो राष्ट्रिय टोपी दिवस



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरसहित देशका विभिन्न सहरमा बुधबार राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

कोहलपुरका सचेत युवा समूहको अगुवाईंमा राष्ट्रिय टोपी दिवस मनाइएको थियो । कोहलपुर–११ स्थित भ्यूटावरमा मनाइएको दिवसमा सहभागीहरूले टोपीलाई बचाइराख्नुपर्नेमा जोड दिएका थिए । टोपी हाम्रो गौरव,हाम्रो पहिचान भएको भन्दै टोपीको संरक्षण गर्न र पहिचान बचाइराख्न युवाहरूको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

उक्त अवसरमा बोल्दै उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष तथा व्यवसायी विष्णु खनालले टोपी नेपालको राष्ट्रिय पहिचान भएको बताए । उनका अनुसार टोपीलाई नेपाली नागरिकको अनिवार्य पोशाक बनाउन आवश्यक छ । नेपालको साँस्कृतिक पहिचानलाई स्थापित गर्न सचेत युवाहरू एकताबद्ध हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

उक्त अवसरमा बोल्दै उनले भने, ‘टोपी हाम्रो साँस्कृतिक पहिचान र गौरव हो । सबैलाई टोपीको महत्व थाहा छैन । त्यसैले टोपीका विषयमा सचेतना फैलाउन आवश्यक छ । विशेषगरी युवाहरूले प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।’

उक्त अवसरमा बोल्दै कोहलपुर जेसीज वर्ष २०२५ का अध्यक्ष दीपेन्द्र कठायतले टोपीको महत्वलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए । यसैगरी कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरले नेपालको गौरव र पहिचानको रूपमा रहेको टोपी दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा बोल्दै कोहलपुका सचेत युवा समूहका संयोजनकर्ता शंकर न्यौपानेले छोटो तयारीका बीच कोहलपुरमा टोपी दिवस मनाउन सफल भएको बताए । उनका अनुसार मंगलबार मात्रै कोहलपुरमा टोपी दिवस मनाउने विषयमा केही युवाहरूबीच छलफल भएको थियो । टोपीप्रति माया भएका युवाहरू दिवस समारोहमा सहभागी भएको भन्दै उनले धन्यवाद प्रकट गरे ।

न्यौपानेले सार्वजनिक महत्वका विषयमा सचेत युवा समूहले आगामी दिनमा वकालत गर्दै जानेसमेत बताए । दिवस मनाउनको लागि कोहलपुर जेसीज, कोहलपुर युवा सञ्जाल र कोहलपुरका सचेत युवा समूहले संयोजन गरेका थिए । उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष खनालले भने सहभागीहरूलाई टोपी वितरण गरे ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार