यातायात व्यवस्था कार्यालय कैलालीमा भने सेवाग्राहीहरूले राजस्व बुझाउन खोज्दा पनि दुई दिन कुर्नुपरेको अवस्था रहेको उनीहरूको गूनासो छ । कैलाली र कन्चनपुरका विभिन्न स्थानबाट राजस्व बुझाउन आएका सेवाग्राहीहरू कार्यालयले सर्भर नचलेको भन्दै दुःख दिएको उनीहरू बताउँछन् ।
शेरबहादुर ऐर । कैलाली ।
कन्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने लक्ष्मी बाँस्कोटा मंगलबार आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न यातायात व्यवस्था कार्यालय धनगढी कैलाली पुगे । तर, बुधबारसम्म उनी राजस्व बुझाउने फाँटको ठूलो भिडमा पालो कुरिरहेका थिए । सर्भर डाउन भएको भन्दै यातायात कार्यालयले सवारी दर्ता तथा नवीकरण गर्ने फाँटमा सेवाग्राहीहरूको काम रोकिदिएको थियो ।
‘प्रविधिको विकास बढिसकेको छ । अझै सरकारी कार्यालयमा ढिलासुस्ती यथावत् रहेको छ । सेवाग्राहीले चाँडो भन्दा चाँडो सेवा पाउने व्यवस्था गर्नुपर्छ’ बाँस्कोटाले मिसन टुडेसँग भने । जोशीपुरका गणेश चौधरी मोटरसाइकलको राजस्व बुझाउन बुधबार बिहान १० बजे यातायात कार्यालय पुगे । तर, दिउँसोको २ बजेसम्म उनको पालो आएन ।
कार्यालयको राजस्व बुझाउने शाखाको सर्भर डाउन भएको भन्दै काम नभएको उनको गूनासो थियो । ‘राजस्व तिर्न टाढाबाट आएको छु । तर, यहाँ कामनै भएको छैन् । एउटा सानो कामका लागि यति धेरै समय लाग्नु राम्रो होइन् ।’
सरकारी काम सेवाग्राहीहरूले सहज रूपमा पाउनुपर्ने हुन्छ । तर, यातायात व्यवस्था कार्यालय कैलालीमा भने सेवाग्राहीहरूले राजस्व बुझाउन खोज्दा पनि दुई दिन कुर्नुपरेको अवस्था रहेको उनीहरूको गूनासो छ । कैलाली र कन्चनपुरका विभिन्न स्थानबाट राजस्व बुझाउन आएका सेवाग्राहीहरू कार्यालयले सर्भर नचलेको भन्दै दुःख दिएको उनीहरू बताउँछन् ।
यातायात व्यवस्था कार्यालय कैलालीका निमित्त प्रमुख विनोद मालीले सडक बनाउने क्रममा रूख कटान हुँदा इन्टरनेट सेवा अवरुद्ध भएको बताए । ‘रूख काट्दा इन्टरनेटको तारमा क्षति पुगेको थियो । जसका कारण मंगलबार दुई घण्टामात्र सेवा दिइयो । बुधबार २ बजेपछिमात्र सर्भर चलेको छ ।’ उनले भने । उनले कार्यालयमा टाढाबाट आएका सेवाग्राहीलाई चाँडोभन्दा चाँडो सेवा दिने प्रयास गरिरहेको बताए ।
उनले विद्युत अवरुद्ध हुने र इन्टरनेट नचल्ने लगायतका कारण सेवाग्राहीले समस्या भोगिरहेको बताए । यातायात कार्यालय परिसरमा रहेका १६ वटा ठूला रूखहरू कटान गर्नुपर्ने भएकोले अब बिदाका दिनमा मात्र ती कटानको कार्य अघि बढाउने उनको भनाई छ । उनले भने, ‘रूख कतिखेर ढल्छ त्यो भन्न सकिदैँन । त्यसैले अहिले वन कार्यालयबाट कटान आदेश पाइएको छ ।’









प्रतिक्रिया दिनुहोस्