हुम्लाका लागि हवाइ मार्गमात्रै रहेन विकल्प



कुनैबेला हवाईमार्ग मात्रै एकमात्र यातायातको साधनको रूपमा रहेका डोल्पा, हुम्ला, बाजुरा, मुगु जस्ता जिल्लाहरूले अहिले बसको सुविधा पाएका छन् । भलै त्यो सुविधा कच्ची सडकमा पुराना बसहरू मार्फत आएको होस्, विशेषगरी विकट मानिने हुम्ला र डोल्पाका बासिन्दाहरूका लागि ती साधनहरू ठूला सास्तीहरू कम गर्ने माध्यम बनेर आएका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जको राँझाका ज्ञानेन्द्र खत्री र उनका साथिहरूले राँझा चोक र राँझा बजारमा देशका विभिन्न स्थानका लागि नेपालगन्जबाट छुट्ने बसको टिकट काउन्टर सञ्चालन गरिरहेका छन् । उनले टिकट काउन्टरमा टाँगेको ब्यानरमा बस जाने स्थानहरूको नाम लेखिएको छ । जसमा लेखिएको छ, ‘काठमाडौँ, डोल्पा, हुम्ला, बाजुरा, मुगु, जुम्ला… आदिको टिकट पाइन्छ ।’ कुनैबेला हवाईमार्ग मात्रै एकमात्र यातायातको साधनको रूपमा रहेका डोल्पा, हुम्ला, बाजुरा, मुगु जस्ता जिल्लाहरूले अहिले बसको सुविधा पाएका छन् ।

भलै त्यो सुविधा कच्ची सडकमा पुराना बसहरू मार्फत आएको होस्, विशेषगरी विकट मानिने हुम्ला र डोल्पाका बासिन्दाहरूका लागि ती साधनहरू ठूला सास्तीहरू कम गर्ने माध्यम बनेर आएका छन् । हुम्लाको सर्केगाडका दिलमान बुढाले गत वर्ष नेपालगन्ज आउनका लागि हवाई टिकट पाउन निकै सास्ति खेप्नुप¥र्यो । यसपटक भने उनी बसमार्फत नेपालगन्ज आइपुगे । ‘दुई दिन लाग्यो । तर, प्लेनको भन्दा आधी पैसामा नेपालगन्ज पुगियो । टिकट कुर्याे भने समयमा पाइँदैन । अलिअलि दुःख भएपनि बाटो बनेपछि हामीलाई सजिलो भएको छ,’ बुढाले भने।

गत वर्षसम्म पनि नेपालगन्ज लगायत पश्चिम नेपालका विमानस्थलबाट पहाडी जिल्लामा सर्वसाधारणले हवाई टिकट पाउन निकै सास्ती झेल्नुपथ्र्याे । त्यसैमाथि हिमाली जिल्ला हुम्ला पुग्नका लागि यातायातको लागि एकमात्र विकल्पको रूपमा रहेको हवाई मार्ग थियो । नेपालगन्ज विमानस्थल छेउमै होटल सञ्चालन गरिरहेका कुलबहादुर केसीले हवाई टिकट नपाएपछि मानिसहरू होटलमा बसेर टिकट पाउने दिन कुर्ने गरेको सम्झिँदै भने, ‘यसवर्ष मानिसहरू सकेसम्म हवाई टिकटको खोजी गर्छन् । पाइएन भने बस र स्कोरपियोमा चढेर गैहाल्छन् । अब हुम्लाका लागि पनि हवाई मार्ग मात्रै विकल्प रहेन ।’

हवाई टिकटका लागि पनि चिनजानको मान्छे वा भनसुन गरिदिने मान्छे नहुनेहरूले अहिले पनि हवाई टिकट पाउन सजिलो छैन । पश्चिमका पहाडी जिल्लामा उडान भर्ने हवाई कम्पनीहरूले प्रायः वर्षापछिको र हिउँद पछिको सिजनमा विमानहरू काठमाडौँ र पूर्वी क्षेत्रमा लैजाने गर्दा यहाँका नागरिकहरूले अत्यावश्यक बेला पनि हवाई टिकट पाउन नसक्ने अवस्था अझै हटेको छैन । यस्तो अवस्थामा सडकमार्गको विकल्प आएपछि हुम्ला र डोल्पाजस्ता विकट जिल्लाका नागरिकहरूले अर्काे विकल्प पाएका छन् ।

यसैवर्ष असारमा खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ स्थित चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । गत असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको उद्घाटन गरेका थिए । २०५६ सालमा शिलान्यास भएको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर नेपालगन्जको जमुनाहा नाकादेखि सुरु भएर उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने ६८२ किलोमिटर लामो करिडोर हो ।

यो करिडोरको कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हिल्सा नाका ४१० किलोमिटर दूरीमा छ । अहिले हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । जिल्लाको दक्षिणका स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बाँकेको नेपालगन्ज, सुर्खेतको वीरेन्द्रनगर, कालीकोट हुँदै हुम्लाको सर्केगाडसम्म दैनिक ४० देखि ४५ बस र बोलेरो जिप तथा ३० देखि ३५ सम्म मालबाहक ट्रक आउजाउ गरिरहेका एकजना बस व्यवसायी डबल शाही बताउँछन् ।

उनका अनुसार सर्केगाडबाट जिपहरूले सिमिकोटसम्म पु¥याउँछन् । कालीकोटको खुलालुसम्म कालोपत्रे सडक रहेपनि त्यसपछि कच्ची सडक रहेको उनले बताए । उनले केही स्थानमा बाहेक सडक जोखिमपूर्ण नरहेको उनको भनाइ छ । शाहीका अनुसार पछिल्लो समय हुम्लाका लागि गाडी सञ्चालन गर्ने होडबाजी सुरु भएपछि पालो पाउन समस्या भइरहेको छ । गाडीहरूले पालोका लागि एकदेखि दुई हप्ता कुर्नु परिरहेको शाहीको भनाइ छ ।

जमुनाह हिल्सा सडकमार्ग सडकमार्ग धार्मिक, सामाजिक, आर्थिक, सामरिक, राजनीतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सडकमार्ग हो । यो सडकमार्ग पूर्णरूपमा सञ्चालनमा आएमा चीनको हिल्सा नाका हुँदै कैलाश पर्वत र मानसरोवर तालको दर्शन गर्ने पर्यटकको लागि छोटो रुट भएकोले पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण हुनेछ ।

सुलभ टिकटको व्यवस्था गर्दै युवाहरू

हुम्ला र डोल्पामा सडकमार्गबाट पुग्न सकिने भएपछि नेपालगन्जका केही होटल व्यवसायी र सवारी साधन सञ्चालकहरूले यात्रुहरूबाट बढी तोकिएको भन्दा बढी भाडा लिइरहेको भन्दै राँझाका केही युवाहरूले सुलभ मूल्यमा टिकटको व्यवस्था गरिरहेका छन् । उनीहरूले केही होटल व्यवसायी र सवारी वालाहरूले तोकिएको मूल्यभन्दा बढी र टिकट नदिएरै यात्रु ओसारिरहेको बताए । राँझाका ज्ञानेन्द्र खत्रीका अनुसार उनीहरूले बस व्यवसायीहरूले टिकटबापत पाइने कमीसन न्यूनतम लिएर यात्रुहरूलाई टिकट दिइरहेका छन् ।

खत्रीले भने, ‘२२ सय रूपैयाँँ भाडा रहेकोे काठमाडौँको भाडा १७ सय मात्रै लिएर टिकट दिन्छौँ । हुम्लाको लागि चार हजारम्म भाडा लिएको हामीले थाहा पाएका छौँ । हामीले तीन हजारदेखि ३५ सय सम्ममा दिएका छौँ । डोल्पाको ३५ सयदेखि चार हजार, मुगुको २५ सयदेखि तीन हजारसम्ममा टिकट दिइरहेका छौँ,’ उनले भने । राँझा क्षेत्रका केही साथिहरू मिलेर आफूहरूले यात्रुहरू नठगिउन् भनेर प्रयास गरेको बताए । ‘यहाँ निजी गाडीहरूले पनि छतमा यात्रु राखेर बोकिरहेका हुन्छन् । त्यस्तो काम रोक्ने पनि प्रयास गरेका हौँ । तर, हामीले मात्रै नसकिने रहेछ । तर सकेसम्म यात्रुहरू नठगिउन् भनेर प्रयास गरिरहेका छौँ,’ खत्रीले मिसन टुडेसँग भने ।

जहाजमा बिरामीलाई दुई टिकट अनिवार्य 

सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ती व्यक्त गर्दै आएका थिए ।

यही विषयलाई लिएर उनीहरूले तीन निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएका थिए । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णयपश्चात शनिबार नै ताला खोलिएको थियो । जिल्लामा उपलब्ध राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहित जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त बैठकले प्रत्येक उडानमा दुई हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, तीन सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने तथा तीन टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सम्झौता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

त्यसैगरी, सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयका लागि वडा कार्यालयको सिफारिसमा एक–एक टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलायन्सले प्राथामिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको छ । सिमकोट गाउँपालिका–५ र ६ ले पहिलोपटक आरक्षण सिट पाउने भएको छ । पन्ध्र सिट भएको जहाजमा यसअघि भनसुनका आधारमा टिकट वितरण हुँदै आएको थियो । यो तालिका सिमकोट विमानस्थलमा उडान भर्ने सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सम्पूर्ण उडानमा लागू हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार