जेनजीका नाममा भएको विध्वंशः देशभर सात सय ७६ भवन ध्वस्त



जेनजी प्रदर्शनका क्रममा देशभर दुई हजार सात सय ४१ वटा भौतिक संरचनामा क्षति भएको पाइएको छ । क्षति पु¥याइएका संरचनामध्ये २८ प्रतिशत अर्थात् सात सय ७६ वटा भौतिक संरचनाहरू पूर्णरूपले क्षतिग्रस्त भएका छन् । नेपाल प्रहरीले संकलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार प्रहरी कार्यालय, सरकारी कार्यालय, निजी भवन तथा व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड गरिएको पाइएको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

जेनजी प्रदर्शनका क्रममा देशभर दुई हजार सात सय ४१ वटा भौतिक संरचनामा क्षति भएको पाइएको छ । क्षति पु¥याइएका संरचनामध्ये २८ प्रतिशत अर्थात् सात सय ७६ वटा भौतिक संरचनाहरू पूर्णरूपले क्षतिग्रस्त भएका छन् । नेपाल प्रहरीले संकलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार देशभर प्रहरी कार्यालय, सरकारी कार्यालय, निजी भवन तथा व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड गरिएको पाइएको प्रहरीको विवरणमा उल्लेख छ ।

क्षति पु¥याइएका संरचनामध्ये एक हजार तीन सय ५३ सरकारी कार्यालय, ६ सय ३८ व्यापारिक तथा निजी भवन, चार सय ६५ प्रहरी कार्यालय र दुई सय ७७ वटा पार्टी कार्यालय रहेका छन् । क्षति पु¥याइएका प्रहरी कार्यालयमध्ये एक सय १८, चार सय एक सरकारी कार्यालय, दुई सय ११ व्यापारिक तथा निजी र ४६ वटा पार्टी कार्यालयहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । प्रहरीले हालसम्म भएको क्षति रकममा अनुमान नगरिएको बताएको छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा क्षति भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार क्षति भएका प्रहरी कार्यालयमध्ये चार सय ४८ वटा कार्यालयहरू सञ्चालनमा आइसकेका छन् भने अब १७ वटा कार्यालयहरू सञ्चालनमा आउन बाँकी छन् । भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भनेर आह्वान गरिएको जेनजी प्रदर्शनको सुरुका आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण हुने भनेर सार्वजनिकरूपमैै घोषणा गरेका थिए । उनीहरूले प्रदर्शनअघिको तयारी र प्रदर्शनका क्रममा पनि सहभागिहरूलाई उत्तेजित नहुन र शान्तिपूर्णरूपमा प्रदर्शन गर्न आह्वान गरिरहेका थिए ।

तर, भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गोली चलाएर करिब दुई दर्जन युवाहरूको हत्या गरेपछि र सयौँलाई घाइते बनाएपछि २४ गतेको प्रदर्शन अनियन्त्रित भयो । जेनजी उमेर समूहका युवाहरू सम्मिलित फरकफरक समूहको अगुवाइमा आह्वान भएको प्रदर्शनको नेतृत्व यकिन थिएन । स्वतःस्फूर्त सहभागिता भएको भनिएको सो आन्दोलन २४ गते झनै अनियन्त्रित बन्यो । जसमा विभिन्न स्वार्थ समूहको घुसपैठ भएको जेनजी अगुवाहरूले नै बताइरहेका छन् ।

यस्तो आगजनी र विध्वंशमा विभिन्न समूह, पुराना राजनीतिक दलका कार्यकर्तादेखि आपराधिक समूह र व्यक्तिहरूसमेत संलग्न भएको अनुमान गरिएको छ । जसको परिणामस्वरुप देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सर्वाेच्च न्यायालय र संसद् भवनसमेत जल्यो ।तत्कालीन सरकारले उक्त विध्वंशलाई रोक्ने त परै जाओस् प्रधानमन्त्री आफू जोगिन सेनाको शरणमा पुग्नुप¥यो, मन्त्रीहरूको भागाभाग भयो । सुरक्षा निकायले २४ गतेको प्रदर्शनलाई विध्वंशतिर जान नदिन कुनै प्रयास गरेन् ।

उक्त दिन सुरक्षा निकायको सक्रियता भए धेरै मानवीय क्षति हुनसक्ने अनुमान गरेर सुरक्षाकर्मीहरू निष्क्रिय बनाइएको सुरक्षा निकायका अधिकारीहरूका तर्क सार्वजनिक भइरहेका छन् । देश नै सरकारविहीन भएको, सडक प्रदर्शनकारीको कब्जामा रहेको, जताततै आगजनी, तोडफोड र लुटपाट मच्चिइरहेको भदौ २४ गतेको दिन नेपालको इतिहासमा एक ऐतिहासिक विद्रोह भएको दिनका साथै सबैभन्दा ठूलो विध्वंश भएको दिनको रूपमा पनि अंकित भयो । उक्त दिन सरकारी कार्यालय पहिलो निशानामा रहे, त्यसपछि प्रहरी कार्यालय ।

प्रहरीहरू ज्यान जोगाउन भागाभाग र हारगुहार गरिरहेको कहालीलाग्दो दृश्यका बीच उद्योगी व्यवसायीका आवास, व्यापारिक प्रतिष्ठानका भवनदेखि लिएर नेताहरूका घरहरू निशानामा परे । यसका साथै राजनीतिक दलका कार्यालय र सडकमा रहेका संरचनाहरूमा पनि प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरे । उक्त दिन भएको क्षतिको अहिले प्रारम्भिक विवरण मात्रै संकलन भएको र क्षतिको विस्तृत विवरण संकलन तथा विश्लेषणको काम भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

आन्दोलनको केन्द्रबिन्दु बागमती प्रदेशले व्यहो¥यो उच्च क्षति

जेनजी आन्दोलनको केन्द्रबिन्दु रहेको बागमती प्रदेशले क्षति पनि सबैभन्दा बढी व्यहोर्नुप¥यो । बागमती प्रदेशमा कूल आठ सय ५४ संरचनामा क्षति हुँदा पाँच सय संरचना काठमाडौँ उपत्यकामा मात्रै क्षतिग्रस्त भए । आन्दोलनका क्रममा काठमाडौँमा रहेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका केन्द्रीय र ऐतिहासिक कार्यालय भवनहरू नै जलेर खरानी भए ।

आगजनीका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत र संघीय संसद् भवन नै जलाइएको थियो । बागमती प्रदेशमा तीन सय ४० सरकारी कार्यालय, दुई सय ५५ प्रहरी कार्यालय, दुई सय २८ व्यापारिक तथा निजी भवन र ३१ वटा पार्टी कार्यालय क्षतिग्रस्त भएका छन् । बागमतीको काभ्रे, चितवन, सिन्धुली लगायतका जिल्लामा पनि धेरै क्षति भएका जिल्लाहरू हुन् ।

क्षति हुनेमा दोस्रो नम्बरमा कोशी प्रदेश

प्रदर्शनका क्रममा बागमती प्रदेशपछि कोशी प्रदेशमा सबैभन्दा बढी भौतिक संरचनामा क्षति भएको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार कोशी प्रदेशका पाँच सय १८ वटा भवन तथा संरचनामा क्षति हुँदा दुई सय ९९ सरकारी कार्यालय, एक सय १८ वटा व्यापारिक तथा निजी भवन, ५७ वटा प्रहरी कार्यालय र ४४ वटा पार्टी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । कोशी प्रदेशमा मोरङ, सुनसरी, झापा, उदयपुर र इलाम जिल्लामा धेरै क्षति भएको छ । यहाँ पनि प्रदेश सरकारका संरचनादेखि स्थानीय तहसम्मका कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

लुम्बिनीको दाङ, बाँके, नवलपरासी र रुपन्देहीमा धेरै क्षति

लुम्बिनी प्रदेशमा ३९७ वटा संरचनामा क्षति हुँदा सबैभन्दा बढी दाङ जिल्ला प्रभावित भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संकलन गरेको प्रारम्भिक विवरणअनुसार दाङका ७६ वटा संरचनामा क्षति हुँदा बाँकेमा ५७, नवलपरासी पश्चिममा ४४ र रुपन्देहीमा ३८ वटा संरचनामा क्षति भयो । नवलपरासी पश्चिममा क्षति भएका ४४ वटामध्ये २१ वटा निजी सम्पत्ति रहेका छन् । प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा क्षति भएकामध्ये एक सय ८३ सरकारी कार्यालय, एक सय सातवटा व्यापारिक तथा निजी भवन, ९३ वटा पार्टी कार्यालय र १४ प्रहरी कार्यालय रहेका छन् ।

मधेसमा करिब दुई अर्ब बराबरको क्षति

जेनजी प्रदर्शनका क्रममा धेरै क्षति हुनेमध्ये तेस्रो स्थानमा रहेको मधेस प्रदेशका प्रायः सबै जिल्लाहरू प्रभावित भए । मधेस प्रदेशमा जम्मा तीन सय ९५ वटा संरचनामा क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख छ । जसमध्ये दुई सय १५ सरकारी कार्यालय, ९० वटा प्रहरी कार्यालय र ५७ वटा व्यापारिक तथा निजी भवन र २५ वटा पार्टी कार्यालय रहेका छन् ।

मधेस प्रदेश प्रहरीका अनुसार हालसम्म संकलित विवरणअनुसार मधेस प्रदेशमा एक अर्ब ९२ करोड, ७३ लाख १५ हजार बढीको क्षति भएको अनुमान गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी धनुषा जिल्लामा क्षति भएको छ । उक्त जिल्लामा जम्मा ८० वटा संरचनामा क्षति हुँदा ६७, निजी भवनहरू क्षतिग्रस्त भएका थिए । यसबाहेक सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लामा पनि धेरै क्षति भएको छ ।

गण्डकीमा कास्की, नवलपरासी पूर्व र तनहुँमा क्षति

गण्डकी प्रदेशमा जम्मा दुई सय ५६ वटा संरचनामा क्षति हुँदा एक सय १९ सरकारी, ७२ वटा व्यापारिक तथा निजी भवन, ३३ वटा प्रहरी कार्यालय र ३२ वटा पार्टी कार्यालयमा क्षति पुगेको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै क्षति कास्की, नवलपरासी पूर्व र तनहुँमा भएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी कास्की ८७ वटा संरचनामा क्षति पुगेको छ । कास्कीमा मुख्यमन्त्रीको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्ममा आगजनी र तोडफोड गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा दुई सय ५३ संरचनामा क्षति

सुदूरपश्चिम प्रदेशमा दुई सय ५३ वटा संरचनामा क्षति भएको प्रारम्भिक विवरण संकलन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । जसमध्ये एक सय ५७ सरकारी कार्यालय, ४० वटा पार्टी कार्यालय, ३८ वटा व्यापारिक तथा निजी भवनहरू र १६ वटा प्रहरी कार्यालयहरू रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी सबैभन्दा धेरै क्षति कैलाली जिल्लामा एक सय ४३ संरचना र त्यसपछि कञ्चनपुर ५६ वटा संरचनामा क्षति पु¥याइएको छ ।

कर्णाली प्रदेशमा क्षति पुगेका ६८ मध्ये ५७ सुर्खेतका

कर्णाली प्रदेशमा जेनजी प्रदर्शनका क्रममा प्रदर्शन हुँदा ६८ वटा भौतिक संरचनामा क्षति पुग्यो । तीमध्ये ५७ वटा सुर्खेत जिल्लाकै संरचनाहरू रहेका छन् । कर्णाली प्रदेशमा क्षतिग्रस्त भएका संरचनामध्ये सरकारी कार्यालय ३८, निजी संरचनाहरू १८, पार्टी कार्यालय १२ वटामा रहेका प्रहरीले जानकारी दिएको छ । सुर्खेतमा संघ, प्रदेश र स्थानीय तहसम्मका कार्यालयहरू निशानामा परे । मुख्यमन्त्री कार्यालयदेखि लिएर वडा कार्यालयसम्मा आगजनी र तोडफोड गरियो ।

प्रमुख तीन दलसहित १० पार्टीका कार्यालयहरूमा क्षति

आन्दोलनका क्रममा क्षति पु¥याइएका राजनीतिक दलका कार्यालयहरूमा सबैभन्दा बढी एमाले, त्यसपछि काँग्रेस र माओवादी केन्द्रका कार्यालयहरू रहेका पाइएको छ । इन्सेकले संकलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार धेरैजसो प्रदर्शन भएका जिल्लाहरूमा क्षति पु¥याइएका पार्टी कार्यालयहरू यिनै मुख्य तीन राजनीतिक दलका कार्यालयहरू निशानामा रहेको देखिन्छ ।

यद्यपि अरु सात दलका कार्यालयहरूमा पनि क्षति पु¥याइएको उक्त विवरणमा उल्लेख छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनता समाजवादी पार्टी (जसपा), जनमोर्चा र नेपाली काँग्रेस वीपीसमेत क्षति व्यहोर्ने पार्टीका रूपमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विराटनगर, नुवाकोट, नवलपरासी पूर्व, कालीकोट र डडेलधुरामा रहेका कार्यालयमा आगजनी त तोडफोड गरिएको छ । यसैगरी एकीकृत समाजवादीको इलाम, उदयपुर र कालीकोटमा रहेका कार्यालयमा क्षति पु¥याइएको छ । राप्रपाको इलाम, म्याग्दी, दाङ, सुर्खेत, जुम्ला र कालीकोटमा रहेका कार्यलयमा तोडफोड गरिएको इन्सेकको विवरणमा उल्लेख छ ।

यस्तै जसपाको इलाम र बारामा रहेको कार्यालयमा क्षति पु¥याइएको थियो भने नेमकिपाको जुम्ला र कालीकोटमा रहेका कार्यालय पनि निशानामा परेका थिए । यसैगरी जनमोर्चा सुर्खेतमा रहेको कार्यालय र काँग्रेस वीपीको डडेलधुरामा रहेको कार्यालयमा पनि क्षति पु¥याइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार