नेपालगन्ज ।
नेपालगन्जको सुर्खेतरोडको पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म ई–रिक्सा चलाउन प्रतिबन्ध लगाउने जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयमा अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघले आपत्ति प्रकट गरेको छ ।
संघले उक्त निर्णयले नेपालगन्जको यातायात व्यवस्थापन थप अव्यवस्थित बन्ने भन्दै उक्त निर्णय कार्यान्वयन भए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सुर्खेत रोडको विकल्पमा रहेको न्युरोड, घरबारी टोल तथा सदरलाइनमा यातायात व्यवस्थापन अहिले नै अव्यवस्थित रहेको अवस्थामा उक्त निर्णय कार्यान्वयन गर्नै नसकिने अवस्था रहेको बताएको छ ।
संघका अध्यक्ष धिरजप्रताप सिंह र महासचिव कुमारसिंह ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त निर्णयमा पुनर्विचार गर्न प्रशासन र नेपालगन्ज उपमहानगरपालिकालगायतका निकायलाई अनुरोध गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार ई–रिक्सा व्यवसायीहरूसँगको छलफलमा उक्त निर्णय भएकोबारे जानकारी दिएका थिए । उनले राजमार्गमा ई–रिक्सा चलाउन नपाइने नियम रहेको बताउँदै अब नेपालगन्जमा पहिलो चरणमा पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म ई–रिक्सा चलाउन रोक लगाइने बताएका थिए ।
उनले सुर्खेतरोड क्रस गरेर वारिपारि जान पाइने भए पनि राजमार्गमै चलाउन नपाइने निर्णय गरिएको प्रजिअ रिजालको भनाइ छ । यो निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम र माइकिङ गर्ने उनले बताए । त्यसपछि कडाइपूर्वक कार्यान्वयन गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्