जयकालिका माविले मनायो वार्षिकोत्सव



सुवास रेग्मी । बढैयाताल (बर्दिया) ।

बढैयाताल गाउँपालिकाको एक मात्र प्राविधिक कृषि धारतर्फको (बाली विज्ञान) पठनपाठन हुने जयकालिका नमुना माविले आफ्नो ४९औँ वार्षिकोत्सव मनाएको छ । बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले सोमबार विद्यालयको ४९औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

विगत लामो समयदेखि बढैयातालमा अवस्थित जयकालिका माविले कृषि बाली विज्ञान विषयमा पठनपाठन गर्दै आउनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयले कृषि धारतर्फ पनि विभिन्न कार्य गरेर मनग्य आम्दानीसमेत गर्न सफल भएको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।

गाउँपालिकाबाट यस आर्थिक वर्षदेखि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । सुविधासम्पन्न भौतिक पूर्वाधार र आवश्यक मात्रामा जमिन रहेकाले विद्यालयले कृषिबाटै विद्यार्थीहरूको जीवनस्तर उकास्ने विश्वास व्यक्त गरे ।

जयकालिका माविमा अध्ययनरत विद्यार्थीहरू लुम्बिनी प्रदेशमै टप हुन सफल भएको समेत उनले बताए । विद्यालयमा शिक्षक र विद्यार्थीले मात्रै नभई अभिभावकको पनि उत्तिकै चासो हुनुपर्ने उनको भनाइ छ ।

‘अभिभावक, विद्यालय, स्थानीय सरकार तीनै तहको जबसम्म सहकार्य र समन्वय हुन सक्दैन तबसम्म शिक्षामा आमूल परिवर्तन गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले अभिभावक पनि सबैभन्दा बढी जिम्मेवार हुन जरुरी छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका त्रिपाठीले विद्यालयका जुनसुकै कार्यक्रममा अभिभावकको उपस्थिति कम हुनेगरेको भन्दै दुखेसो पोखे । आगामी दिनमा विद्यालयमा के कस्ता गतिविधि भइरहेका छन् र आफ्ना बालबालिका विद्यालय गएका छन कि छैनन् भन्ने जानकारी अभिभावकलाई हुनुपर्ने उनको भनाइ छ ।

सानो कुसुमको छहरीबाट सुरु भएको विद्यालयले अहिले सुविधा सम्पन्न भवनसहित गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोमबहादुर परियारले बताए । संस्थापकहरूलाई सम्झिँदै उनले जुन उद्देश्यले विद्यालय स्थापना भएको हो सोही दिशामा अघि बढिरहेको उनले जानकारी दिए ।

स्थापना कालदेखि विभिन्न आरोहअवरोह पार गर्दै विद्यालयलाई यो स्थानसम्म पु¥याउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरे । आगामी दिनहरूमा थप संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको उनको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद लुइँटेलले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुका साथै गुण्स्तरीय शिक्षामा जोड दिएको बताए । उनले कृषि धारतर्फ बाली विज्ञानअन्तर्गत विद्यालयले धान, फूल उत्पादन गरेर मनग्य आम्दानीसमेत गर्न सफल भएको उनले जानकारी दिए ।
विद्यालयमा कम्प्युटर ल्याब, लाइब्रेरी, विज्ञान प्रयोगशालालगायतको व्यवस्थापन भएको र आगामी दिनमा थप सुविधा वृद्धि गर्दै लगिने उनले बताए ।

सो अवसरमा शैक्षिक सत्र २०८० भित्र भएका अतिरिक्त क्रियाकलापहरूको पुरस्कार तथा मेडलसमेत वितरण गरिएको थियो । उक्त अवसरमा रिमबहादुर पौडेल क्षत्रीले स्थापना गरेको रिमबाबा जेहेन्दार छात्रवृत्ति अक्षय कोष र स्व. सन्दिप पराजुली स्मृति अक्षयकोषमार्फत विद्यालयमा अध्ययन गर्ने १८ जना विद्यार्थीलाई नगद, प्रमाणपत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

त्यस्तै, विद्यालयका भूतपूर्व विद्यार्थी सुनिल खड्काद्वारा स्थापित छात्रवृत्तिबाट कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने अतिविपन्न तथा जेहेन्दार ३ जना विद्यार्थी १÷१ हजारका दरले पुरस्कृत भएका थिए । कक्षा १० र १२ को बोर्ड परीक्षामा आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ४ जना शिक्षकलाई नगद तथा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार