१७ सयको सामान ल्याएको भन्दै सशस्त्रको कुटपिटबाट घाइते साहु डिस्चार्ज



नेपालगन्ज ।

सशस्त्र प्रहरीले कुटपिट गरेपछि अस्पतालमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका–१७ का नन्कु साहु डिस्चार्ज भएका छन् । उनको भिडियो एक्सरे रिपोर्ट सामान्य आएको सशस्त्र प्रहरीको ३० नम्बर गण नेपालगन्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीले जानकारी दिए । नन्कुले पनि आफू अहिले सामान्य अवस्थामा रहेको र चिकित्सकले औषधि भने दिएको बताए ।

एसपी डाँगीका अनुसार नन्कुका छोराबाट १० हजार मूल्यबराबरको कस्मेटिक सामान बरामद गरिएको छ । उक्त सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । यता नन्कुले भने छोराले १ हजार ७ सयको मात्रै सामान ल्याएको र त्यो पनि कस्मेटिक नभएर चकलेट, सर्फ, अगरबत्तीलगायतका सामान मात्रै भएको दोहो¥याएका छन् ।

‘प्रहरीले कसरी त्यति धेरैको सामान फेला पा¥यो थाहा भएन । तर, मेरो छोरा कस्मेटिक सामान ल्याउन गएको थिएन,’ उनले सोमबार साँझ मिसन टुडेसँग भने ।

उनले छोराले किनेर ल्याएको भनेर मिसन टुडेलाई उपलब्ध गराएको सामानको लिस्टमा पनि बिस्कुट, सरफ, अमिलो पानी, मोमबत्ती, दालमोठ लगायत एक हजार ६ सय ९० रूपैयाँको लिस्ट रहेको छ । तर, प्रहरीले उनीबाट कसरी १० हजार रूपैयाँको कस्मेटिक सामान बरामद गरेको दाबी गरेको हो स्पष्ट हुन सकेको छैन ।

एसपी डाँगीले भने भन्सार नतिरेका सामानहरू जफत गर्न खोज्दा सीमा क्षेत्रमा जहिले पनि अवरोध हुने गरेको र नन्कुसँग जोडिएको घटना पनि त्यस्तै भएको बताए । उनले नन्कुलाई प्रहरीले बुटले प्रहार गरेको आरोप भने अस्वीकार गरे ।

एसपी डाँगीले भने, ‘हामी पनि मानिस नै हौँ । त्यस्तो अमानवीय व्यवहार गर्दैनौँ । यसमा उनले बरामद भइसकेको सामान नै जबर्जस्ती लछारपछार गरेपछि तानतान मात्रै भएको हो । त्यसैक्रममा उनी बेहोस भएका हुन् । पिटेको बहाना गरेका हुन् ।’

आइतबार भारतीय बजार रूपैडिहाबाट छोराले भन्सार नतिरिकनै ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि छुटाउन भनी गएका नन्कु प्रहरीसँगको झडपका क्रममा बेहोस भएका थिए । उनले आफूलाई प्रहरीले संवेदनशील अंगमा प्रहार गरेपछि बेहोस भएको बताएका थिए । उनी बेहोस भएपछि प्रहरीले भेरी अस्पतालमा भर्ना गरी उपचार गरेको हो ।

एसपी डाँगीले सीमा क्षेत्रको जमुनाहा, जयसपुरलगायतका क्षेत्रमा हरेक दिन भन्सार नतिरीकनै सामान ओसारपसार गर्नेहरूसँग झडप हुने गरेको बताएका छन् । ‘हामीलाई कर्तव्य पालनाका क्रममा पुरै गाउँले नै अवरोध खडा गर्छ । तस्करी नियन्त्रण गर्न खटिएका प्रहरीमाथि नै आक्रमण हुन्छ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार