पहल केसी । नेपालगन्ज ।
नेपालगन्जमा रहेकोसारदा उपभोक्ता सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक समारोहकाबीच संस्थाका जेष्ठ सदस्य सुन्दर राढको प्रमुख आथित्यता तथा संस्थाका अध्यक्ष उमाकला भट्टराईको सभापतित्वमा सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष अध्यक्ष भट्टराईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ७ लाख ६३ हजार ३ सय ३० रुपैयाँ ३३ पैसा खुद मुनाफा कमाउन सफल भएको जानकारी दिइन् । उनले चालू आ.व. २०८१/०८२ मा २३ लाख ४७ हजार रुपैयाँ मुनाफा लिने लक्ष्य लिएको बताइन् ।
संस्थाले अघिल्लो वर्षसम्म १९ लाख शेयरपुंजी भएको र हाल १ करोड १३ लाख पुर्याउन सफल भएको छ । साधारण सभामा बोल्दै जिल्ला सहकारी संघ बाँकेका सञ्चालक जमानसिंह ओलीले राज्यले कानून कार्यान्वयनमा गरेको कमजोरीका कारण सहकारी क्षेत्रमा धमिला लागेको बताए ।
‘राज्यले सहकारीलाई गम्भिर रूपमा नलिदा सहकारीका भाईरस जिवी राई जस्ता मान्छे जन्मने खतरा हुन्छ’ उनले भने, ‘राष्ट्रिय रूपमा सहकारीलाई समस्या देखाउदै उच्चस्तरका सहकारी सञ्चालक र त्यसमा संलग्न भएका व्यक्तीहरूलाई सरकारले हाल धमाधम पक्राउ गर्दै आएको छ । सहकारी शिक्षामा कमी भई वित्तीय कारोबार गर्न पुग्दा धेरैजसो सहकारी धरापमा पर्दै गए ।’
कार्यक्रममा संस्थाले ल्याएको २० वर्षे पेन्सन योजनामा आबद्ध भएका सदस्यहरूलाई सम्मान गरेको छ । गत सहकारीले २०७५ सालमा दिगो सहकारी लाभ आर्जनको लागि २० वर्षे पेन्सन योजना ल्याएको थियो । यो योजनामा हाल सहकारीका १ सय ५ जना शेयर सदस्यहरूलाई आफ्नो खाता खोलि रकम जम्मा गरिसकेका छन् ।
सहकारीले आफ्ना उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋण र विभिन्न विधामा कर्मचारीहरूलाई सम्मान गरेको थियो । साधारण सभामा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका सिनियर असिस्टेन्ट अमृत कुमार जोशी, संस्थाका संस्थापक सदस्य नारायण सिंह गुरुङले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्