सम्झौताअनुसार बाँकेको कोहलपुरस्थित दुग्ध विकास संस्थान नेपालगन्ज दूध लिन नआएपछि शान्तिनगर गाउँपालिका– २ बाघमारेस्थित दीप कृषि सहकारी संस्थाले स्थानीय किसानबाट संकलन भएको दूध सडकमै पोखेर फालेको हो ।
दाङ ।
दाङ शान्तिनगरको एक सहकारी संस्थाले संकलन भएको दूध बिक्री नभएपछि बाटोमा पोखेर बगाएको छ । शान्तिनगर गाउँपालिका– २ बाघमारेस्थित दीप कृषि सहकारी संस्थाले स्थानीय किसानबाट संकलन भएको दूध बिक्री नभएपछि सडकमा पोखेर फालेको हो ।
संस्थाले बाँकेको कोहलपुरस्थित दुग्ध विकास संस्थान नेपालगन्जसँगलाई संकलन भएको दूध बिक्री गर्ने सम्झौता गरेको थियो । सहमतिअनुसार किसानहरूसँग दूध संकलन गरिएपनि लामो समयसम्म संस्थान दूध लिन नआएपछि ५/७ सय लिटर दूध सडकमा बगाइएको संस्थाका अध्यक्ष नेब बहादुर रोकाले जानकारी दिए ।
उनले भने, ‘राज्यले किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने हो । तर, यहाँ किसानहरूले उत्पादन गरेको दूध बिक्री नहुँदा विस्थापित हुने अवस्था छ । हामीले रहर नभई बाध्य भएर ५०/ ६० हजार बराबर मूल्यको दूध बगाइसकेका छौँ । राज्यको ध्यानाकर्षण होस्, भनेर यस्तो गरेका हौँ ।’
उनका अनुसार सरकारको स्वामित्व प्राप्त डिडिसीसँग यहाँका किसानहरूले उत्पादन गरेको दूध बिक्री गर्ने सम्झौता भएको थियो ।
त्यहीअनुसार किसानहरूबाट संकलन गरी ल्याएको दूध बिक्री नहुँदा बगाइएको हो । ‘डिडिसीले समयमा दूध ल्याएन, आएन, भने जति पनि लग्दैन । लामो समय दूध राख्दा बिग्रिसक्यो । मंगलबार मात्र ५/७ लिटर दूध बगाएका छौँ । अझै एक हजार बढी लिटर दूध हामीसँग छ’ उनले भने ।
संस्थाका अध्यक्ष रोकाले दूध लैजान डिडिसी कोहलपुरलाई फोन गर्ने गरेको भए तापनि फोन नै नउठाउने र उठाए पनि गाडी नपाउने गरेको गुनासो गरे । उनले किसानहरूको दूध बिक्री नहुँदा समस्या भइरहेको बताए ।
आफूहरूले संकलन गर्ने दूध गुणस्तरयुक्त रहनेसमेत उनको भनाइ छ । उनका अनुसार डिडिसी कोहलपुरले महिनाको १५ दिनमा एकपटक आउने र एक हजार लिटर मात्र दूध लैजाने गरेको थियो । तर, नियमित लिन नआउँदा समस्या भएको हो ।
उनका अनुसार स्थानीय बजारमा दूध बिक्रीको व्यवस्था नहुँदा पनि समस्या भएको छ । संस्थाका अनुसार दूधको गुणस्तर हेरेर किसानहरूले अधिकतम ६७ रुपैयाँ प्रतिलिटर दूधको मूल्य पाउने गरेका छन् । शान्तिनगर बाघमारेका एक सय बढी किसानहरू संस्थामा आबद्ध रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्