एड्स दिवसमा सचेतनामूलक ¥याली



नेपालगन्ज (बाँके) ।

अन्तर्राष्ट्रिय एड्स दिवसको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रमहरू गरेर ३७औँ एड्स दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा दर्जन बढी संघसंस्था तथा विद्यार्थीहरूले सचेतनामूलक ¥यालीसहित एड्स दिवस मनाएका छन् । बाँकेको भेरी अञ्चल अस्पतालदेखि नेपालगन्ज बसपार्कसम्म बृहत् ¥यालीसहित जनचेतनामूलक नारा तथा प्लेकार्डसहित ¥याली निकालिएको हो ।

एड्स दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कन्डम फुलाउने तथा क्वीज प्रश्नोउत्तर प्रतियोगितामा सहभागी गराइएको थियो । कन्डम फुलाउने प्रतियोगितामा यौनिक अल्पसंख्यक प्रतिनिधिले प्रथम स्थान हासिल गरेका थिए भने क्वीज प्रश्नोउत्तर प्रतियोगितामा नेपालगन्ज मेडिकल कलेजका विद्यार्थीहरूले पहिलो स्थान हासिल गरे ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले कोणसभालाई सम्बोधन गर्दै एड्स गम्भीर रोग भएकाले हरेक व्यक्तिले सावधानी अपनाउनुपर्ने बताए । शाहीका अनुसार एड्ससम्बन्धी जनसमुदायमा सही जानकारी नभएकाले अधिकांश व्यक्तिहरूले यस विषयमा कुरा गर्न लाज मान्ने गरेका छन् । त्यस्तै, केही व्यक्तिहरूले एड्स संक्रमितहरूलाई हेर्ने नजरिया असामान्य रहेको छ ।

शाहीले एड्स जोकोहीलाई पनि हुन सक्ने भएकाले हरेक व्यक्तिलाई समान व्यवहार गर्नुपर्ने बताए । शाहीका अनुसार केही वर्षयता एड्सका बिरामीहरूको संख्या घटेको छ ।

हाल विश्वभरि ८ करोड ८४ लाख व्यक्ति एड्स संक्रमित रहेका छन् । जसमध्ये नेपालमा मात्र ३० हजार ३ सय जनामा एड्स संक्रमण देखिएको छ । त्यस्तै एड्सका कारण ४ करोड ३३ लाखले ज्यान गुमाएको तथ्यांक छ । वर्ष २०२३ को अन्त्यसम्म विश्वभर ३ करोड ९९ लाखमा एड्स संक्रमण रहेको अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन १ जना व्यक्तिमा एड्स संक्रमण हुने गरेको एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ । वर्ष २००० को तुलनामा पछिल्लो ३ वर्षमा नेपालमा संक्रमण हुने प्रतिशत ९१ प्रतिशतका दरले घटेको छ । हाल नेपालमा ३० हजार ३ सय जनामा एड्स संक्रमण रहेको छ । जसमध्ये ४ सय ५७ जना वर्ष २०२३ मा मात्र संक्रमित भएका छन् ।

बाँकेमा मात्र १० हजार ७ सय ५९ जनामा एड्स परीक्षण गर्दा १ सय १ जनामा एचआईभी संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रबिन्द्र साहले जानकारी दिए । जसमध्ये ४ सय ८८ जनाले निरन्तर एआरटी सेवा लिँदै आएका छन् । देहव्यापारी तथा यौनकर्मी, कैदीहरू, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू यसको जोखिममा रहेको बताइन्छ ।

एचआईभी स्टेकहोल्डरको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा गोपाल नीना फाउन्डेसन, एड्स हेल्थ फाउन्डेसन, नेपालगन्ज मेडिकल कलेज, भेरी कलेज नेपालगन्ज, नेपालगन्ज नर्सिङ क्याम्पस, कलेज अफ अलाइड, नेपालगन्ज टेक्निकल कलेज, फ्यामिली प्लानिङ एसोसिएसन नेपाल, रिकर्भरिङ नेपाललगायतका संस्था तथा विद्यालयहरूले सचेतनामूलक प्लेकार्डसहित ¥याली निकालेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार