नेपालगन्ज ।
सामुदायिक पुस्तकालयको महत्वलाई राज्य र समाजले सही तरिकाले बुझ्न नसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको २४औं साधारण सभामा बोल्ने वक्ताहरूले राज्यले पुस्तकालयको व्यवस्थापन आफ्नो दायित्व नसम्झने र समाजले पुस्तकालयको उपयोग नगर्ने प्रवृत्ति रहेको टिप्पणी गरे ।
साधारण सभामा बोल्दै महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले राज्यले पुस्तकालयलाई नियमित बजेटको व्यवस्था गर्नुपर्ने बताए । अहिले पहुँचका भरमा मात्रै बजेट दिने गरिएको उनले बताए । अर्काेतिर पुस्तकालयमा नागरिकहरू पनि पुस्तकालयको विकासका लागि भन्दा राजनीतिक उद्देश्यका लागि मात्रै आबद्ध हुने गलत प्रवृत्ति बढेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै राजनीतिक चिन्तक नरेन्द्रजंग पिटरले पुस्तकालयले समाजमा सही ज्ञानको प्रसार गरी सचेत नागरिक उत्पादनमा भूमिका खेल्नुपर्ने बताए । लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले समाजले पुस्तकालयबाट लिन्सक्ने जति ज्ञान लिनबाट चुकिरहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेश सरकारका तर्फबाट पुस्तकालयको विकासका लागि निभाउनुपर्ने भूमिकाका लागि पहल गर्ने बताए ।
उनले महेन्द्र पुस्तकालयका लागि १० लाख रुपैयाँ छुट्याइएको र त्यसलाई पुस्तकालयको आवश्यकता अनुसार खर्च गर्न पाउनेगरी व्यवस्थापन मिलाउने उनले बताए । उनले महेन्द्र पुस्तकालय नेपालगन्जको ऐतिहासिक धरोहर भएकाले यसको जगेर्ना र सदुपयोगका लागि समाज जिम्मेवार हुनुपर्ने पनि बताए ।
मन्त्री अग्रवालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको साधारण सभाबाट सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्