कोहलपुर ।
बाँके जिल्लाको राप्ती नदी सिधनियाँघाटमा अन्तिम संस्कारस्थल निर्माणार्थ सम्पन्न बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा ३ करोड ३ लाख संकलन भएकोमा २ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको आयोजक समितिले जनाएको छ ।
कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जमा आयोजित महोत्सवमा ३ करोड ३ लाख १५ हजार ४ रुपैयाँ संकलन भएकोमा ६० लाख ४४ हजार रूपैयाँ घोषणा गरिएकोमा उठ्न बाँकी रहेको आयोजक समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । श्रेष्ठले महोत्सव सञ्चालनमा ७५ लाख रूपैयाँ खर्च भएको पनि जानकारी दिए ।
यसैगरी १ कट्ठा २६ धुर जग्गा पनि प्राप्त भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डुडुवा–४ बाँकेमा १ कट्ठा तथा वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार बर्माले नेपालगन्ज–१० मा २६ धुर जग्गा दान गरेका श्रेष्ठले जानकारी दिए ।
महोत्सव सञ्चालनमा भएको खर्चमा प्रमुख वाचक, सहवाचक, यज्ञ ब्राह्मणलगायतलाई दक्षिणा, खाना, आवास र यातायातमा १० लाख २२ हजार, टेन्ट र मञ्च व्यवस्थापनमा ८ लाख ५७ हजार, एलीईडी बाल टिभीमा ५ लाख ८ हजार, पोस्टर फ्लेक्स्मा ३ लाख ७२ हजार रहेको जानकारी श्रेष्ठले दिए ।
सिधनियाँघाटमा ब्रह्मनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन महायज्ञ आयोजना गरिएको थियो । जसमा पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक थिए ।
प्रतिक्रिया दिनुहोस्