सुर्खेत ।
जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गाउँमा गत वर्षभन्दा यस वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडाध्यक्ष जङगबहादुर बस्नेतले बताए ।
उनका अनुसार विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो ।
वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पु¥याउन चालू आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । यसअघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नुपरेको थियो । गाउँमा पानी पु¥याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।
सिमी बढी उत्पादन हुने वडा नम्बर १ मा २९० परिवार छन् । वडाको मुख्य आम्दानी सिमी र स्याउ हो । अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुई सयका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए । वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।
गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ । अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ ।
प्रतिक्रिया दिनुहोस्