धान बेच्न खुला आकाशमा रात काट्दै किसान



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा प्रमुख रामशरण लामिछाने आफूहरूले सकेसम्म सबै किसानको धान खरिद हुने पालो तोकेर बोलाएकै दिन गर्ने प्रयास गरेपनि केही किसानहरूको खरिद गर्न नसकिने गरेको बताउँछन् । उनले भने, ‘कोही किसानहरू बोलाएको दिन नआएर अर्काे दिन आइदिन्छन् । उनीहरूलाई पालो दिँदा किसानहरूले एक दिनसम्म बढी कुर्नुपरेको छ । यसलाई पनि व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ वसुदेवपुरका किसान रामदेव गडरिया धान खरिद हुने भनेर पालो तोकिएको दिनभन्दा अघिल्लो साँझ ९ बजे नै नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमा आइपुगे ।

तर, उनीभन्दा अघि नै किसानहरू आएर ट्याक्टरलाई लाइनमा लगाइसकेका थिए । उनले उक्त रात खुला आकाशमै काटे । तर, उनको पालो आइतबार पनि आएन । यसरी उनले दुई रात खुला आकाशमै काटेर धान बिक्री गरे । ‘पराल बालेर आगो ताप्यौँ । मच्छर टोेकेर सुत्न पनि पाइएन । के गर्नु पालो कुर्नैप¥र्याे,’ गडरियाले भने ।

जानकी गाउँपालिकाका किसान मुक्तार आलम खाँ पनि धान खरिद गरिने पालो परेको अघिल्लो साँझै आएर लाइनमा बसे । तर, उनले पनि थप एक रात खुला आकाशमै रात काट्नुप¥र्याे । मुक्तारले एकजना किसानको धान भाडामा बोकेर ल्याएका थिए ।

प्रतिक्विन्टल एक सय रुपैयाँ भाडा तोकेर धान ल्याएका उनले भाडाबाट हुने कमाइभन्दा बढी घाटा भएको बताए । उनले औँलामा हिसाब गर्दै भने, ‘मेरो गाडीमा बढीमा ७० क्विन्टल धान होला । त्यसबाट ७ हजार भाडा आउने हो । तर, गाउँमा एक दिनमा ट्याक्टरले यो सिजनमा १० हजारभन्दा बढी कमाई गर्न सक्छ । अर्काेतिर एक दिनका लागि भनेर आएकोमा दुई दिनको घाटा भयो ।’

धान बिक्री गर्न आएका किसानहरू खाद्य व्यवस्थामा गाउँमा भन्दा प्रतिक्विन्टल करिब दुई सय रुपैयाँ बढी मूल्य पाइने भएपनि धान बेच्न लाग्ने समयले झन्झट सृजना गरेको बताउँछन् । ‘अहिले हिउँदेबाली लगाउने, तरकारी लगाउने सिजन हो । तर यहाँ भनेको दिनमा खरिद हुँदैन । ट्याक्टर दुई दिन बेकारमा खडा गरिराख्नुपर्छ,’ रामदेवले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जमा प्रमुख रामशरण लामिछाने आफूहरूले सकेसम्म सबै किसानको धान खरिद हुने पालो तोकेर बोलाएकै दिन गर्ने प्रयास गरेपनि केही किसानहरूको खरिद गर्न नसकिने गरेको बताउँछन् । ‘कोही किसानहरू बोलाएको दिन नआएर अर्काे दिन आइदिन्छन् । उनीहरूलाई पालो दिँदा किसानहरूले एक दिनसम्म बढी कुर्नुपरेको छ । यसलाई पनि व्यवस्थापन गर्ने प्रयास गरिरहका छौँ,’ उनले भने ।

अहिले प्रतिदिन २० देखि २५ जना किसानलाई पालो तोक्ने गरिएको लामिछानेले जानकारी दिए । वडा कार्यालयको सिफारिस लिएर आएका किसानलाई आफूहरूले पालो तोक्ने गरेको उनको भनाइ छ । बिहीबारसम्म १० हजार क्विन्टल मोटा धान र एक हजार क्विन्टल मध्यम धान गरी ११ हजार क्विन्टल धान खरिद भएको उनले बताएका छन् । ‘एक जना किसानबाट औसतमा ६० देखि ७० क्विन्टल धान खरिद भएको छ,’ उनले
भने ।

मंसिर महिनाभरीका लागि किसानहरूले पालो लिइसकेकोले यसवर्ष धान खरिदको कोटा पूरा हुने विश्वास गरिएको उनको भनाइ छ । यस वर्ष ४० हजार क्विन्टल धान खरिदको लक्ष्य दिइएको छ । कात्तिक २० गतेबाट धान खरिद सुरु भएको थियो । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाएको खाद्य नेपालगन्जले करिब ८ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।

किसानहरू स्थानीय सरकारहरूले धान खरिद गर्दा लाग्ने भाडामा अनुदान दिएमा मात्रै समर्थन मूल्यको लाभ प्राप्त भएको महसुस हुने बताउँछन् । ‘धान बोकेर यहाँ ल्याउँदा भाडा लाग्छ, आफ्नै ट्याक्टर भएपनि तेल खर्च हुन्छ । गाउँमा बेच्दा भन्दा मूल्य केही बढी पाइने भएपनि भाडा र तेलमै सकिहाल्छ,’ नेपालगन्ज– १९ का किसान मासुम रजा खान भन्छन् । उनले स्थानीय सरकारले कि त स्थानीय स्तरमै धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने नभए भाडामा अनुदान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार