कोहलपुरको च्याट स्क्रिन सर्ट प्रकरणः सुरक्षित अवतरणको खोजीमा दलहरू



त्रिभुवन नमुना माध्यमिक विद्यालयमा उत्पन्न परिस्थितिको यहाँस्थित प्रमुख दलहरूले सुरक्षित अवतरण खोजेका छन् । कोहलपुर नगरपालिकाले पनि प्रमुख दलहरूको चाहनाबमोजिमकै समिति निर्माण गरिदिएको छ ।

कोहलपुर ।

कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा उत्पन्न परिस्थितिको यहाँस्थित प्रमुख दलहरूले सुरक्षित अवतरण खोजेका छन् । कोहलपुर नगरपालिकाले पनि प्रमुख दलहरूको चाहनाबमोजिमकै समिति निर्माण गरिदिएको छ । यही घटनालाई लिएर कोहलपुर नगरपालिकाले मंगलबार ४ सदस्यीय छानबिन समिति निर्माण गरेको थियो । घटनालाई सुरक्षित रूपमा अवतरण गराउने गरी सन्तुलित समिति निर्माण गरेर नगरपालिकाले समितिलार्ई छानबिनको जिम्मा दिएको छ ।

कांगे्रसको बहुमत भएको नगरपालिकामा तीनै दल, कांग्रेस, एमाले र माओवादीलाई मिलाएर समिति निर्माण गरिएको छ । छानबिन समितिमा कांग्रेसका तर्फबाट वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाह संयोजक रहेका छन् भने एमालेका तर्फबाट वडा नम्बर ३ का वडाध्यक्ष माधव रिजाल र माओवादीका तर्फबाट वडा नम्बर ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी सदस्य छन् । समितिको सदस्य सचिवका रूपमा नगरपालिकाका अधिकृत द्रोण बोहोरा रहेका छन्् ।

‘प्रमुख तीन दलको प्रतिनिधित्व हुने गरी समस्याको दीर्घकालीन समाधान निस्कियोस् भनेरै हामीले सन्तुलित समिति बनाएका हौँ,’ कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा कार्यबाहक नगर प्रमुख संगीता सुबेदीले मिसन टुडेसँग भनिन् ।

घटनाको सुरुवातदेखि नै छानबिन गरी समस्याको दीर्घकालीन समाधान खोज्ने गरी समितिलाई अधिकार दिइएको सुबेदीले जानकारी दिइन् । नगरकै गौरवको रूपमा रहेको नमुना माध्यमिक विद्यालयमा यस किसिमका घटना दोहोरिरहेकाले अब उप्रान्त यस्ता घटना नहुन भन्नका लागि सबै दलको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको कार्यबाहक नगर प्रमुख सुबेदीले बताइन् ।

‘नगरको नमुना विद्यालयका रूपमा रहेको विद्यालयमा पटकपटक यस्ता घटना दोहोरिरहनु हामी सबैको प्रतिष्ठामा आँच आउने विषय हो,’ उनले मिसन टुडेसँग भनिन्, ‘त्यसैले घटनाको सुरुवातदेखि नै छानबिन गरेर दोषीउपर कारबाही गर्ने गरी समिति निर्माण गरिएको छ ।’

नगरपालिकाले चाहेको भए अराजकता मच्चाउँदै तोडफोडमा उत्रिने समूहलाई सोझै कारबाही गर्न सक्ने भए पनि जरैदेखि घटनाको सत्यतथ्य पत्ता लगाएर दीर्घकालीन रूपमा समस्या समाधान गर्नका लागि समितिमार्फत अघि बढेको उनको भनाइ छ । त्यसैले नै सबै दलको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरिएको उनले स्वीकार गरिन् ।

प्रमुख दलहरूको समझदारीमै घटनाको सुरक्षित अवरणका लागि समिति निर्माण भएसँगै बुधबारबाट विद्यालयको पठनपाठन समेत सुचारु भएको छ । असहज परिस्थिति निर्माण भएको भन्दै अनिश्चितकालीन विद्यालय बन्द गरेको त्रिमाविले नगरपालिकाले समिति गठन गरेको भोलिपल्टैदेखि विद्यालय खोलेर पठनपाठन सञ्चालन गरेको हो ।

मंगलबार एक सूचना जारी गर्दै विद्यालयले उत्पन्न विषम परिस्थितिका कारण विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको जनाएको थियो । तर प्रमुख दलहरूकै दबाबमा बुधबारदेखि नै विद्यालय सञ्चालन गरिएको स्रोतले जनाएको छ । कोहलपुर नगर कार्यपालिकाको बैठकले तत्काल स्कुल खोल्ने निर्णय गरेकाले बुधबारदेखि नै स्कुल सञ्चालनमा ल्याइएको त्रिमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बुढाले जानकारी दिए ।

‘अब दलहरूको दबाब नै त नभनौँ तर हिजै नगर कार्यपालिकाको बैठक बसेर सबै पक्षको सहमतिबमोजिम छानबिन समिति गठन गर्ने र स्कुल तत्काल खोल्ने निर्णभएकाले हामीले आज (बुधबार)देखि स्कुल खोलेका हौँ,’ बुढाले भने । एसईई परीक्षा आउन लागेकाले पनि विद्यार्थीहरूको पठनपाठनमा असर पर्ने भएकाले विद्यालय खोलिएको उनको भनाइ छ ।

गत सोमबार विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत छात्रामाथि शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यालयमा आन्दोलन गरेका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको समूहले ढुंगामुढा गर्दै विद्यालय र कोहलपुर नगरपालिका भौतिक संरचनामा क्षति पु¥याउनुका साथै सडक किनारमा हुर्किएका बिरुवाहरू समेत भाँचिदिएका थियो । आन्दोलनको नेतृत्व बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देवेन्द्र बुढाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार