21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

नेपालगन्जमा ट्यांकरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०  

बाँके ।

नेपालगन्जको धम्बोझी चोक नजिकै पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एक किशोरीको मृत्यु भएको छ । तिव्र गतिको ट्यांकरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार नेपालगन्ज– १७ की १७ वर्षीया शालिनी पाठक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

ना३ख ८८५२ नम्बरको ट्यांकरले भे११प ७६५७ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो । पुष्पलाल चोकतर्फबाट वीपी चोकतर्फ गइरहेको ट्यांकरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएलगत्तै ट्यांकरको टायरले किचेर किशोरीको दुर्घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट मृतक किशोरीका बाबु मोटरसाइकल चालक ४३ वर्षीय दिलिपकुमार पाठक सामान्य घाइते भएको डिएसपी डाँगीले जानकारी दिए ।

उनी आइतबार नै उपचारपश्चात घर फर्किसकेका छन् । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र ट्यांकरका चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १०, २०८०     7:46:41 PM  |