बाँके ।
नेकपा (माओवादी केन्द्र) बाँकेले जिल्लाका ८ वटै पालिकाको अधिवेशन एकैसाथ गर्ने निर्णय गरेको छ ।
मंसिर २९ र ३० गते बाँकेका ८ वटै पालिकामा अधिवेशन गर्ने नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले निर्णय गरेको हो । नेपालगन्जस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रले अधिवेशनको तयारीका बारेमा जानकारी गराएको थियो ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले मंसिर २९ र ३० गते ८ वटै पालिकामा एकैसाथ अधिवेशन गर्नेगरी नेताहरूको कार्य विभाजन गरिएको बताए ।
एकैसाथ हुने अधिवेशनका लागि बैजनाथ गाउँपालिकामा जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी, राप्तीसोनारी गाउँपालिकामा केन्द्रीय सदस्य कृष्णा के.सी. (नमुना), खजुरामा इन्द्रप्रसाद खरेल (आइपी) र डम्बरबहादुर वि.क. (तुफान), डुडुवामा प्रकाश सुवेदी (चन्द्रकान्त) र गेहराज शर्मा (नवीन), नरैनापुरमा नरेन्द्र न्यौपाने, जानकीमा अन्जना चौधरी, कोहलपुर नगरपालिकामा उषा पुन र नरेन्द्र पाण्डे (जेम्स), तथा नेपालगन्ज उपमहानगरपालिकामा अक्कलबहादुर बम र डिल्ली बराललाई सम्मेलन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ ।
अधिवेशनकै लागि सम्बन्धित पालिकामा रहेका प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद् सदस्यहरूको पनि कार्य विभाजन गरिएको संयोजक पाण्डे जानकारी दिए । जिल्लाका ८१ वडामा अधिवेशन सम्पन्न गरिसकेकाले मंसिर १५ गतेसम्म पार्टी सदस्यता नवीकरण तथा लेवी अभिलेखिकरण सक्ने र २५ गतेसम्म वडाबाटै प्रतिनिधि छनौट गरी अधिवेशनमा जाने गरी तयारी थालिएको उनले बताए ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदीले पार्टी रूपान्तरण तथा पार्टी जिवनमा अधिवेशन निकै आवश्यक हुने बताइन् । अहिले हुने पालिका अधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट सदस्य तथा पदाधिकारी छनौट गरिने दाबी गरिन् ।
माओवादीको सरकार हुँदा भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायको क्षेत्रमा राम्रो काम गरेकाले जनतामा माओवादीप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै सुवेदीले पछिल्लो समय माओवादीप्रति जनलहर देखिन थालेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्