कोहलपुर ।
कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । व्यवस्थापन समितिको निर्णय अनुसार मंगलबार एक सूचना जारी गर्दै विद्यालयमा उत्पन्न विषम परिस्थितिका कारण विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ ।
तर, विद्यालयमा सञ्चालनमा भइरहेको प्राविधिक धारतर्फको वार्षिक परीक्षा भने यथासमयमा सञ्चालन हुने विद्यालयले जनाएको छ । मंगलबार बिहान विद्यालय पुगेका विद्यार्थीहरू बिदा भनेर सूचना प्रकाशन भएपछि निराश हुँदै घर फर्केका थिए ।
सोमबार विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत छात्रामाथि शिक्षकले दुव्र्यवहार गरेको भन्दै आन्दोलित भएका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको समूहले कोहलपुर नगरपालिकाले हुर्काएका बिरुवाहरू भाँच्नुका साथै नगर प्रहरी कन्ट्रोलको दोस्रो तलाको सीसासमेत फुटाएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
विद्यार्थीहरूले १६ वटा बिरुवामा क्षति पु¥याएको उनले जानकारी दिए । जसमा २ वटा बिरुवा पूर्णरूपमा नष्ट, १० वटा निमोठिएका र अन्य आंशिक गरेर जम्मा १६ वटा बिरुवामा क्षति पुगेका छन् । कोहलपुर चौराहा, वन कार्यालय, न्यूरोडलगायतका क्षेत्रमा हुर्काएका बिरुवामा क्षति पुगेको उनले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको कार्यालय तोडफोडमा उत्रिएको समूहलाई प्रहरीले तितरबितर पारेपछि त्यसको रिस उनीहरूले हुर्किरहेका बिरुवाहरूमाथि पोखेका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले हुर्किरहेका बिरुवा भाँच्नुका साथै संरक्षणका लागि राखिएका ट्री गार्डसमेत फालिदिएका थिए ।
नगरपालिकाद्वारा छानबिन समिति गठन
मंगलबार बसेको कोहलपुर नगर कार्यपालिका बैठकले विद्यार्थी आन्दोलन र त्रिभुवन नमुना माध्यमिक विद्यालयको विषयमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
कोहलपुर नगरपालिका–१२ वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजत्वमा चार सदस्य समिति गठन गरिएको हो । समितिमा ३ नम्बर वडाध्यक्ष माधव रिजाल, ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र द्रोण बोहोरा सदस्य रहेका छन् ।
मंगलबार गठन भए पनि टीओआर प्राप्त नभएकाले मंगलबार पहिलो बैठकमा छलफल मात्रै भएको संयोजक शाहले मिसन टुडेलालाई जानकारी दिए । टीओआर पाउनासाथ प्रक्रिया अघि बढ्ने संयोजक शाहले बताए ।









प्रतिक्रिया दिनुहोस्