मधुवनको कैलाशीमा हात्ती आंतक



बर्दिया ।

जिल्लाको मधुवन नगरपालिका–१ स्थित कैलाशीमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले आठ घर भत्काएको छ । चार दिनयता निकुञ्जबाट निस्केर राति १ देखि ३ बजेसम्म हात्तीले मध्यवर्ती क्षेत्रमा आतंक फैलाउन थालेको हो ।

हात्तीले मध्यवर्ती क्षेत्रमा आतंक फैलाउन थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् । मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले चार दिनयता स्थानीय यज्ञराज शाही, चन्द्र बहादुर खडका, प्रेमकला सुनार, युवराज गोरख धामी, खम्ब शाहीलगायत आठ जनाको कच्ची घर हात्तीले भत्काएको जानकारी दिए ।

‘हात्तीको आतंकका कारण स्थानीय निकै त्रसित भएका छन् । रात पर्न साथ मानिसहरू घर छाडेर अन्यत्र सुरक्षित स्थानमा जाने गरेका छन्,’ उनले भने, ‘हात्ती धपाउन बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनालगायत स्थानीय रातभर गस्ती गर्दै आएका छन् । तर हात्तीलाई नियन्त्रण गर्न सकेका छैनन् ।’

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले हात्तीले आतंक फैलाएपछि त्यसलाई नियन्त्रण गर्न सबै निकाय परिचालित भएको जानकारी दिए । सबै निकाय परिचालित हुँदासमेत हात्ती नियन्त्रणमा लिन नसकिएको भन्दै उनले स्थानीयहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ४ गते मंगलबार