
नेपालगन्ज ।
संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बाँकेमा उद्योग बाणिज्यको विकासका लागि उत्पादन र ब्रान्डिङमा जोड दिनुपर्ने बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको ३२ र ३३औँ साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले वस्तुहरूको ब्रान्डिङ पनि गर्न नसक्ने र व्यवसाय ओरालो लाग्यो भन्ने गुनासो गर्ने कामलाई ‘रोइलो’को संज्ञा दिए ।
उनले नेपालगन्जका उद्यमीहरुलाई कर्णाली प्रदेशमा भएको संभावनातर्फ ध्यान दिन सुझाव दिए । उनले भने, ‘यतिबेला हाम्रो संभावनाको नयाँ खोजी हाम्रै माटोमा, हाम्रै प्रदेशमा, हाम्रै ठाउँमा खोज्नुपर्नेछ । आज यद्यपि प्रदेश अलग भए पनि कर्णाली प्रदेशको एउटा आँगनको रूपमा रहेको नेपालगन्ज, बाँके, त्यो जीवितै देख्छु म ।’
मन्त्री भण्डारीले सरकारले आयात प्रतिस्थापन गरेर निर्यात बढाउने नीति लिएकाले भन्सार बिन्दुमा बसेर हुने लाभमा मात्रै व्यवसाय चलाउँछु भन्ने नसोच्न आग्रह गरे । उनले नेपालबाट व्यापारीहरूले कच्चा पदार्थहरू सस्तोमा निर्यात गर्ने र ती कच्चा पदार्थबाट बनेका ब्रान्डेड उत्पादनहरू फेरि आयात गरेर बिक्री गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।
‘हाम्रो वस्तुमा पाँच गुणा, सात गुणा बढी मुनाफा लिएको छ । हामी हाम्रो प्लाउड निर्यात भयो भनेर खुसी छौँ । तर, त्यसलाई गुड फिनिसिङ गरेर निर्यात गर्न सकिरहेका छौँ । कसले छेकेको छ त्यो विषयमा । अनि हामी भनिरहेका छौँ व्यापार धरापमा प¥र्या ।’ उनले अदुवा, अलैँची जस्ता निर्यात भइरेका वस्तुहरूमा पनि ब्रान्डिङ गर्न व्यवसायी चुकिरहेकाले यसमा सम्भावना रहेको बताए ।
मन्त्री भण्डारीले अहिले नेपालको उद्योग व्यवसाय क्षेत्रले नयाँ मोड खोजिरहेको बताएका छन् । उक्त खोजीमा सरकार उद्योगी–व्यवसायीहरुको साथमा रहेको बताए । मन्त्री भण्डारीले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्तामा औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्नेसमेत बताएका छन् ।
पहिलो चरणमा औद्योगिक क्षेत्रमा तारबार र जमिन सम्याउने काम अगाडि बढाइने उनले जानकारी दिए । यसअघि औद्योगिक क्षेत्रको काम अघि बढाउन अव्यवस्थित बसोबासीलाई देखाएर कांग्रेस र एमालेले एकअर्काको सरकार भएको बेला तस्र्याउने गरेको बताउँदै उनले अहिले दुवै दल सरकारमा रहेकाले उक्त अवरोध नहुने बताए ।
संघको साधारणसभाको उद्घाटनसत्रमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभाका सांसद दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मीना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेपालगन्जमा उद्योगी व्यापारीहरूले नेपालगन्जको व्यावसायिक क्षेत्रमा निराशाजनक अवस्था रहेको बताएका थिए । संघका अध्यक्ष धामीले नेपालगन्जका व्यवसायीका कठिनाइ, सीमा क्षेत्रमा व्यवसाय गरिरहँदा भोग्नुपरेका पीडा, नेपालगन्जलाई राज्यले हेर्ने दृष्टिकोण, भन्सार नीतिलगायतका असन्तुष्टि व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मालगायतले बोलेका थिए । संघले साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान एवम् पुरस्कारसमेत प्रदान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्