महाबुमा एमालेले टुंगो लगायो उम्मेदवार



सुर्खेत ।

नेकपा एमालेले आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य नीरज आचार्यले दिएको जानकारी अनुसार उपनिर्वाचनका लागि पालिका अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यद्यपि यसको औपचारिकता दिन भने बाँकी रहेको छ ।

शाही कात्तिक २७ गते मात्रै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा फर्किएका थिए । एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई उपनिर्वाचनमा गाउँपालिकाको अध्यक्षको टिकट दिने सर्तमा एमालेले पार्टीमा ल्याएको थियो ।

एमालेले यसपटक सर्वसम्मत रूपमा उम्मेदवार छानेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । एमालेले कात्तिक २८ गतेभित्र उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन भनेको थियो । तलबाटै अधिकांश ठाउँमा एकल नाम सिफारिस भएर आएकाले सर्वसम्मत उम्मेदवार छानिएको उनले दाबी गरे ।

शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । शाही त्यतिबेला ३ हजार ५ सय २२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९ सय मत ल्याएका थिए ।

शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए । तर त्यो चुनावमा भने उनी तेस्रो भए । गत निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरुङ अध्यक्ष निर्वाचित भएका थिए । उनले २ हजार ९ सय ७९ मत ल्याए । निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत ल्याएका थिए ।

त्यतिबेला तेस्रो भएका शाहीले २ हजार २ सय ६८ मत ल्याएका थिए । यसपटक शाहीको सम्भावना बलियो देखेर जिल्ला कमिटीले उनैलाई सर्वसम्मत उम्मेदवार बनाएको केन्द्रीय सदस्य आचार्यले दाबी गरे ।

गाउँपालिका अध्यक्ष गुरुङको २०७९ माघ २७ गते निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । त्यहाँ कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाशबहादुर बुढालाई उम्मेदवार बनाउने टुंगो लगाएको छ । आगामी मंसिर १६ गते ४४ स्थानका लागि स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार