नौबस्ता बाल सुधार गृहबाट तीन बाल बिज्याइँकर्ता भागे



बाँके ।

नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् । बैजनाथ गाउँपालिका–३ मा रहेको बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।

बाल सुधार गृहमा १२५ जना बाल बिज्याइँकर्ता रहेकोमा तीन जना भागेका हुन् । ‘त्यहाँ करिब १२५ जना बाल बिज्याइँकर्ता थिए । उनीहरूलाई छुट्टाछुट्टै ब्लकमा राखिएको थियो, एउटा ब्लकमा २५ जना थिए, २५ जना बाल बिज्याइँकर्तामध्ये तीन जना भागेका छन्,’ उनले भने, ‘आइतबार बेलुका गणना गर्दा सबै बाल बिज्याइँकर्ता थिए, सोमबार बिहान गणना गर्दा तीन जना भागेको पाइयो । उनीहरू रातिको समयमा भागेका हुन सक्छन् ।’

भागेका बाल बिज्याइँकर्ताको खोजीका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । खोजीमा जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटहरू, सशस्त्र प्रहरीलगायतका सबै सुरक्षा निकाय परिचालन गरिएको एसपी कार्कीले बताए ।

बाल सुधार गृहबाट भाग्नेमा एक जना बाँके, एक जना दाङ र एक जना प्युठानका बाल बिज्याइँकर्ता रहेका छन् । उनीहरूको उमेर भने २० देखि २२ वर्षसम्मको रहेको छ । उनीहरू जघन्य अपराध मुद्दाका दोषीहरू हुन् ।

भागेका तीनै जना झन्डै एक वर्ष पहिले डुडुवा गाउँपालिकाको हिरमनियाँस्थित सुधार गृहबाट नौबस्ता ल्याइएकाहरू रहेको एसपी कार्कीले जानकारी दिए । ‘त्यहाँ लफडा र झगडा गर्नेहरूलाई नौबस्ता सारिएको थियो,’ उनले भने, ‘फेरि उनीहरूले त्यस्तै लफडा गरी यहाँबाट पनि भागेका रहेछन् ।’

बाल बिज्याइँकर्ताहरू भागेको खबर पाएलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितका सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरू बाल सुधार गृहमा पुगेका थिए ।

जानकारहरूका अनुसार बाल सुधार गृहभित्रको नीति नियम कारागारको भन्दा भिन्दै हुन्छ । भित्र प्रहरी प्रवेश गर्न तथा उनीहरूमाथि बल प्रयोग गर्न पाइँदैन । सोही मौका छोपेर बाल सुधार गृहबाट बाल बिज्याइँकर्ताहरू पटक–पटक भाग्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार