मधुर पौडेल । बाँसगढी ।
बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करणअन्तर्गतको छैटौं दिन सोमबार सम्पन्न दुई खेलमा बाँसगढी रोयल टाइगर्स र ककौरा सुपर किङ्स विजयी भएका छन् । बाँसगढी रोयल टाइगर्स र एचबीएबीच भएको पहिलो खेलमा रोयल टाइगर्सले टस जितेर व्याटिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको रोयल टाइगर्सले २० ओभरमा ७ बिकेट गुमाउँदै १४८ रन जोडेको थियो ।
पहिलो इनिङमा रोयल टाइगर्सका बिनायक गिरीले ३५ रन र लभकुश यादवले ३२ रन जोडे भने एचबीएको बलिङतर्फ सोलुप चौधरीले ३ विकेट लिएका थिए ।
१४९ रनको लक्ष्य पछ्याएको एचबीएले १७.२ ओभरमा १० विकेट गुमाउँदै ६८ रन मात्रै जोड्यो । फलतः बाँसगढी रोयल टाइगर्स ८० रनले विजयी भयो । दोस्रो इनिङमा एचबीएका प्रकाश रावतले १७ तथा उज्ज्वलले १३ रन जोडेका थिए भने बलिङतर्फ रोयल टाइगर्सका लभकुश र रोहनले समान ३–३ विकेट लिएका थिए । पहिलो म्याचमा अलराउन्ड प्रदर्शन गरेका लभकुश यादवले माधव एन्ड मनीष म्यान अफ दी म्याच घोषित भए ।
सोमबारै भएको ककौरा सुपर किङ्स र बाँसगढी राइनोजबीचको दोस्रो खेलमा राइनोजले टस जितेर ब्याटिङ रोजेको थियो । राइनोजले २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन जोड्न सफल भएको थियो । जसमा राइनोजका असिम गिरीले २८ तथा रोहन केसीले २४ रनको योगदान दिए । बलिङतर्फ ककौराका अजय सहानी तथा भुवन शाहीले समान ३–३ विकेट लिए ।
जबाफी ब्याटिङमा उत्रिएको ककौराले १८.२ ओभर ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै २ विकेटले ककौरा बिजयी भयो । ब्याटिङतर्फ ककौराका अजय सहानीले ४३ रन तथा सुदीप रानाले १५ रन जोडे भने बलिङतर्फ राइनोजका सिद्धान्त राज शाहीले ३ विकेट लिए । दोस्रो म्याचमा अलराउन्ड प्रदर्शन गरेका अजय सहानीले माधव एन्ड मनीष म्यान अफ दी म्याच अवार्ड पाए ।
प्रतियोगिताको सातौँ दिन आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । पहिलो खेल बाँसगढी राइनोज र एचबीएबीच हुनेछ भने दोस्रो खेल बाँसगढी रोयल टाइगर्स र ककौरा सुपर किङ्सबीच हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिए ।
बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताका विजेताले १ लाख ५० रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्