शिवु खनाल । दाङ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा फोहार फाल्न रोक लगाएको छ । विगत लामो समयदेखि नगर क्षेत्रको फोहोर फालिँदै आएको वनक्षेत्रमा समूहले फोहोर फाल्न रोक लगाएको हो ।
अन्यत्र डम्पिङ साइडको व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले अनौपचारिक रूपमा लमही नगरपालिकालाई आग्रह गरेको थियो । सुनुवाइ नभएपछि पालिकालाई ध्यानाकर्षण पत्रसहित एकमहिने अल्टिमेटमसमेत दिएको थियो ।
तर एकमहिने अल्टिमेटमको अवधि सकिँदासमेत नगरपालिकाले कुनै सुनवाइ नगरेपछि समूहले वन प्रवेशद्वारमा ताला लगाएको छ । अनौपचारिक–औपचारिक रूपमा पटक–पटक वन क्षेत्रका फोहोर नफाल्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि प्रवेशद्वारमा ताला लगाउन आफूहरू बाध्य भएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए ।
‘लमही नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाले वर्षौंदेखि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ,’ अध्यक्ष रिजालले भने, ‘फोहोर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ ।’ फोहोर र प्रदूषण बढेपछि यस विषयमा चारैतिरबाट आवाज उठेको र वन उपभोक्ता समूहले केही समयअघि उचित व्यवस्थापन गर्न लमही नगरपालिसँग अनुरोध गरेको उनले बताए ।
यस विषयमा समूहले डिभिजन वन कार्यालय दाङ, देउखुरीलाई समेत जानकारी गराएको छ । जथाभावी रूपमा वनक्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै समूहले वनमा फोहोर फाल्न रोक लगाएको समूहका अध्यक्ष रिजालले बताए ।
वन कार्यालय, सामुदायिक वनले स्थलगत अवलोकनका क्रममा नगरपालिकाले बजारको फोहोरसँगै सेफ्टी–ट्यांकीको फोहोरसमेत फाल्ने गरेकाले दुर्गन्धसमेत फैलिएको उनले जानकारी दिए ।
लमहीबाट फोहोर बोकेको नगरपालिकाको गाडीलाई जंगलतर्फ आउन नदिई फर्काउन थालिएको छ । ‘लमहीबाट फोहोर बोकेको गाडीलाई जंगलक्षेत्रमा पस्न दिएका छैनौँ । सरोकारवालालाई पनि अब कडाइ गर्न भनेका छौँ,’ उनले भने, ‘फोहोरले वातावरणलाई धेरै प्रदूषित गरेकाले यो कदम चाल्नुप¥यो ।’
फोहोर वनक्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठे पनि नगरपालिकाबाट कुनै सुनुवाइ नभएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । फोहोरमा आगो पनि लगाउने क्रममा झन्डै एक किलोमिटर क्षेत्रमा रूख–बिरुवा केही पनि नभएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्