आजदेखि कतार एयरवेजले भैरहवाबाट उडान गर्दै



बुटवल ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि कतार एयरवेजले नियमित उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्न लागेको जानकारी दिए । कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रूपमा ठूलो उपलब्धि भएको उनले बताए ।

कतारले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौँमा दैनिक चार उडान भर्दै आएको थियो ।

योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।

यस्तै फ्लाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २७ गते मंगलबार