नौबस्ता कारागारबाट ३ जना बाल विज्याईकर्ता भागे, खोज्न सुरक्षाकर्मी परिचालन



बाँके ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना बाल विज्याईकर्ता भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना बाल विज्याईकर्ता भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

भागेका बाल विज्याईकर्ताहरूको खोजीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । बाल विज्याईकर्ता भागेसँगै जिल्लास्थित सुरक्षा अधिकारीहरू नौबस्ता कारागारमा पुगेका छन् ।

फरार हुनेहरूमा बाँके खजुराका एक, दाङका एक र प्यूठान घर भएका एक बाल विज्याईकर्ता रहेको बताइएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

*यसअघिको समाचारमा बाल विज्याईकर्ता हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । –सम्पादक

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार