शिवु खनाल । दाङ ।
नेत्रहीन क्रिक्रेट संघ नेपालले टी–२० विश्वकपका लागि पन्ध्र जना (पुरुष) नेत्रहीन राष्ट्रिय क्रिक्रेट टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । संघले बुधबार अन्तिम चरणको बन्द प्रशिक्षण क्याम्पमा १५ खेलाडी बोलाएको हो । टी–२० विश्वकपको तयारीका लागि बुधबारदेखि लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियममा अन्तिम चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो ।
बन्द प्रशिक्षण कात्तिक २२ गतेदेखि १३ दिनसम्म सञ्चालन हुनेछ । नेत्रहीन क्रिक्रेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले टी–२० विश्वकप २०२४ नोभेम्बर २१ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा हुने तय भएको जानकारी दिए ।
विश्वकपमा ८ देशको सहभागिता रहनेछ । जसअन्तर्गत नेपाल, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानले सहभागी जनाउँदै छन् । अन्तिम चरणको बन्द प्रशिक्षण खेलमा नेपाल क्रिक्रेट संघका लेबल एकको प्रशिक्षक एवम् दाङ क्रिक्रेट संघका सचिव सञ्जु क्षेत्री र सहायक कोच नरेन्द्र निरौला रहेका छन् । नेत्रहीन क्रिक्रेट संघ नेपालको केन्द्रीय समितिको बैठकले दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियममा प्रशिक्षण खेल राख्ने निर्णय गरेको हो ।
संघको निर्णयले लमहीका बासिन्दामा खुसी छाएको छ । १२ करोड लागतमा निर्माण भएको यो मैदान खेल नहुँदा अत्याधुनिक मैदान गौचरनमा परिणत भएको थियो । ५ सय दर्शक क्षमताको (जी स्ट्यान्डर्ड) भीआईपी स्ट्यान्ड, आउटफिल्ड, बाउन्ड्री, क्रिजहरू, स्टम्प र बेल्स, साइट स्क्रिन र डगआउट-पविलियन जस्ता सबै संरचनाहरू निर्माण सम्पन्न भइसकेको लमही नगर विकास समितिका सब–इञ्जिनयर तुलसीराम अर्यालले जानकारी दिए ।
यद्यपि, प्यारापिट, भारोत्तोलन एकेडेमी, र सुटिङ रेञ्ज जस्ता संरचना बने पनि अझै प्रयोगविहीन छन् । करोडौंको खेल पूर्वाधार तयार हुँदासमेत खेल आयोजना नहुँदा विगतमा लमहीका खेलप्रेमी र खेलाडीको उत्साह निराशामा परिणत हुँदै आएको थियो ।
आठौं राष्ट्रिय खेलकुदका बेला महिला क्रिकेटको आयोजना भए पनि त्यसपछि खेल मैदान प्रयोजनहीन बनेको थियो । लमही नगर विकास समितिको स्वामित्वमा पूर्व–पश्चिम राजमार्गसँगै सटेको चार बिघा क्षेत्रफलमा नगर विकासको १० करोड र युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकारको न्यून लागतमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान निर्माण भएको हो ।
नवौँ खेलकुद प्रतियोगिता विसं २०७७ मा कोरोना महामारीका कारण हुन सकेन । स्टेडियमभित्र आवश्यक पूर्वाधार तयार भए पनि ती एकपटक पनि प्रयोगमा आएका छैनन् । तर, बन्द प्रशिक्षणले फेरि उत्साह जगाउन थालेको छ ।
निगर विकास समितिले नवनिर्मित संरचना क्यानलाई लिजमा दिने वा स्थानीय वा संघ मातहत राख्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । स्वामित्व हस्तान्तरण नहुँदा क्यानले लिन नमान्दा मैदान अन्योलमा रहेको स्रोतले जनाएको छ ।
क्रिकेट मैदानलाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्धहरूले माग गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले नियमित खेल र अभ्यासका लागि पहल गरिने बताए ।
बन्द प्रशिक्षण छनोट भएका खेलाडी
नेत्रहीन क्रिक्रेट संघ नेपालले बन्द प्रशिक्षणका लागि बेलाएका खेलाडीहरूमा कप्तान रमेशबहादुर बानियाँ, उपकप्तान दमबहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेमबहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रवीन स्याङ्तान, मदन न्यौपाने रहेका छन् ।
यसैगरी अमिश गुरागाईं, सन्त पहरी, सुनिल रानामगर, नरेश चौधरी र पदम कार्की पनि बन्द प्रशिक्षणमा छनोट भएको बन्द प्रशिक्षण खेलका को–अर्डिनेटर प्रेम पुलामीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्