‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा



काठमाडौँ ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रूपमा भित्र्याएको छ । बुधबार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खड्कालाई आबद्ध गरेको जनाएको हो ।

सो पत्रकार सम्मेलनमा आफ्ना भनाइ राख्दै कलाकार खड्काले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् ।

‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले म कर्णाली याक्ससँग जोडिन पुगेकी हुँ ।’

खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनुभएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनुभएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पा¥यो ।’

कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो । प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनुभएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्दत पुग्नेछ,’ उनले भने । छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो कार्य राम्रो सुरुवात भएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार