नेपालगन्ज ।
तीन हजार रुपैयाँसम्मको दान दानपेटिकामा जम्मा गरिने, पाँच लाखमाथिको दान गर्नेलाई चौसल्ला, रुद्राक्ष माला, जोडी कलशले सुभोभन गरी दातालाई बाजागाजासहित यज्ञ मण्डप परिक्रमा गराई व्यास मण्डप परिसरसम्म सहजीकरण गर्ने र सभानायक पवदीद्वारा सम्मान गर्ने । १५ लाखदेखि २५ लाखसम्म दान गर्ने दातालाई चौसल्ला, रुद्राक्ष माला, जोडी कलशले सुभोभन गरी निवासबाटै बाजागाजाका साथ रथारोहण गराई महायज्ञ स्थलसम्म पु¥याउने ।
यो हो बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटमा हिन्दु धार्मिक विधिअनुसार व्यवस्थित घाटसहितको अन्तिम दाहसंस्कार स्थल निर्माणार्थ नेपालगन्जमा आजबाट आयोजना हुने ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नाम दिइएको श्रीमद्भागवत कथावाचन महायज्ञमा दाताहरूलाई आकर्षित गर्न बनाइएको सम्मानको खाका ।
सुरुवातदेखि नै सार्वजनिक रूपमा अनेक टीकाटीप्पणीहरू भइरहेको उक्त बैकुण्ठधाम योजनालाई सफल बनाउन आर्थिक संकलन गर्ने उद्देश्यले नेपालगन्जको रामलीला मैदानमा आजबाट कात्तिक ३० गतेसम्म सञ्चालन हुनेगरी महायज्ञ सुरु हुँदै छ । महायज्ञमा श्रीमद्भागवत कथावाचक पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक रहनेछन् ।
बैकुण्ठधाम सिधनियाघाट नामक गैरसरकारी संस्था दर्ता गरी सुरु गरिएको योजनाअनुसार करिब २० करोडको लागतमा अग्निदाहस्थल, विद्युतीय शवदाह गृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना बनाइनेछ ।
उक्त योजनामा सुरुमा महायज्ञबाट रकम संकलन गर्ने र अपुग रकम सरकारी निकायहरूबाट थप्न लगाउने योजना आयोजकको छ । त्यसैले सकेसम्म धेरै दान संकलन गर्न रकम अनुसारको सम्मान गर्ने स्किम राखिएको संस्थाका महासचिव श्रीराम सिग्देलले बताए ।
महायज्ञका लागि सबै तयारी पूरा भएको र बिहीबार बिहान ११ बजे शोभा कलश यात्रा गरी नेपालगन्ज बजार परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने कार्यक्रम छन् । कात्तिक ३० गतेसम्म बिहान ५ बजेदेखि राति ११ बजेसम्म अनेक धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू महायज्ञ स्थलमा हुने आयोजकले जनाएको छ । जसमा योग ध्यानदेखि, संगीतमय श्रीमद कथावाचन, श्रवण, भजन किर्तन, ब्रतबन्ध, लाखबत्ती प्रज्वलन, तुलादान, भूमिदान, दौदान, चौरासी पूजालगायतका कर्मकाण्डहरू पनि गर्न सकिने आयोजकले जनाएको छ ।
जसको केन्द्रमा आर्थिक संकलन नै रहेको आयोजकको भनाइ छ । बुधबार महायज्ञ आयोजनाको तयारी पूरा भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव सिग्देलले अत्यन्त जरुरी रहेको हिन्दू दाहसंस्कार स्थलको योजनालाई सफल बनाउन आर्थिक संकलन पहिलो प्राथमिकता भएकाले दाताहरूलाई आकर्षित गर्न रकमअनुसारको सम्मान गर्ने खाका बनाइएको बताए । यस्तो खाका र दानको गरिमालाई कसरी हेर्ने भन्ने पत्रकारको प्रश्नमा उनले अन्यथा नबुझ्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा सहभागी कथावाचक पण्डित पोखरेलले दातालाई गरिने सम्मानको खाकाका बारेमा आफूले धेरै जानकारी नराखेको र अध्ययनपश्चात मात्रै केही भन्न सक्ने बताए । यद्धपि उनले रकम तोकेर सम्मानको खाका बनाउन आफूले सल्लाह नदिएको बताए । पण्डित पोखरेलले दानको गरिमा र महिमाका विषयमा भने महायज्ञमै विस्तृतरूपमा बताउने उल्लेख गरे ।
उनले जन्म र जीवनजस्तै मृत्युलाई पनि सानदार बनाउनुपर्ने भएकाले उक्त योजना लोकहितकारी रहेको र सबैले सकेको दान गरी योजना सफल बनाउन योगदान दिन आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्