नेपालगन्ज ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले आजबाट धान खरिद सुरु गर्ने भएको छ । कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार वडा कार्यालयले दिएको सिफारिसका आधारमा धान खरिद गरिनेछ ।
यसवर्ष नेपालगन्ज शाखालाई ४० हजार क्विन्टल धान खरिदको लक्ष्य दिइएको छ । गतवर्ष ५१ हजार क्विन्टलको लक्ष्य तोकिएकोमा ढिलो खरिद सुरु हुनु र झन्झटिलो प्रक्रियाका कारण ८ हजार क्विन्टल मात्रै धान खरिद भएको थियो ।
यसवर्षका लागि सरकारले मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा प्रतिक्विन्टल र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्विन्टल समर्थन मूल्य तोकेको छ ।
असारमै समर्थन मूल्य तोकिएपछि धान खरिदमा ढिलाई हुँदा कतिपय किसानहरूले स्थानीय व्यापारीहरूलाई तोकिएको मूल्यभन्दा कममै धान बेचिसकेका छन् ।
धान खरिदका लागि मूल्य पहिला नै तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएको कार्यालय प्रमुख लामिछानेले बताए । उनका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ ।
यसवर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आंकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको किसानहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्